प्रधानमन्त्रीद्वारा आयोगका पदाधिकारीसँग छलफल 

निर्वाचन तयारीमा लाग्न निर्देशन
शनिबार, जेठ ८, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले  राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक  निर्वाचनतर्फ नै अघि बढेको जिकिर गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा गए राति दुई चरणमा  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति  तोकेकी छन् । 
राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन् । राष्ट्रपतिको यो कदमलाई लिएर विपक्षी गठबन्धनले कानुनी तथा राजनीतिक लडाईं लड्ने निर्णय गरेका छन् । कानुनका जानकार तथा संविधानविद्हरुले सरकार गठनको दाबीलाई परीक्षण नै नगरीकन संसद् विघटन गर्ने निर्णय लिएको भन्दै यो गैरसंवैधानिक भएको दाबी गरिरहेका छन् । कोरोना महामारीले आक्रन्त बनेको मुलुकमा निर्वाचन घोषणा  गर्ने सरकारको कदमलाई लिएर बहु पक्षबाट विरोध आइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार