सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले अहिले चुनावमा जानु झन् ठूलो संकट निम्तने बताएका छन् । संसद् विघटन र मध्यावधि चुनावबारे धारणा सार्वजनिक गर्दै उनले जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह समेत गरेका छन् । शनिबार विज्ञप्ति प्रकाशित गर्दै उनले ‘संसदीय व्यवस्था सफल नभएकाले वैज्ञानिक समाजवादले मात्र निकास दिन सक्ने बताएका छन् । ‘जनमत संग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पार्छौं’, विज्ञप्तिमा विप्लबले उल्लेख गरेका छन् ।
अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको उनको ठहर छ । ‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्नु हो’ विज्ञप्तिमा भनिएको छ । ‘राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ ।’