राष्ट्रपतिले भनिन्, 'कानुन पनि हेर्छु' 

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन हेर्ने बताएकी छन् । प्रमुख विपक्षी दलका नेता देउवालाई १४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेता शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतल निवास गएका बेला राष्टपतिले यस्तो बताएकी हुन् ।  नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताएकी हुन् । 'हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं । उहाँले धेरै बोल्नुभएन । म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभएको छ भन्नुभयो' श्रेष्ठले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् । विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार