उपनिर्वाचनमा पार्टी उम्मेदवारविरुद्धका गतिविधिको एमालेद्धारा भत्र्सना 

माधव नेपालसमूहको गतिविधिको समीक्षा 
बिहीबार, जेठ ६, २०७८

काठमाडौं । नेकपा (एमाले) ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा माधव नेपाल समूहले जनप्रतिनिधिलाई विवेक प्रयोग गर्न दिएको अनौपचारिक निर्णयप्रति आपत्ति प्रकट गरेको छ । एमालेको माधव नेपाल समूहले आज सम्पन्न वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा जनप्रतिनिधिलाई विवेक प्रयोग गर्न छुट दिएको थियो । एमालेले उक्त पदमा गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापालाई माधव नेपाल निकट संघीयताविद् डा. खिमलाल देवकोटाले चुनौति दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने  र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ । बैठकले उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ विरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्ध सरकारले गरिरहेका प्रयासका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए । बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्न आवश्यक कानूनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
यादवप्रति श्रद्धाञ्जलि 
बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ । उनको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार