कोरोना परीक्षण रिपोर्ट आउन ढिला हुँदा सङ्क्रमणको जोखिम  

बिहीबार, जेठ ६, २०७८

स्याङ्जा । जिल्लामा कोभिड¬–¬१९ को सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरूले टोलटोलमा पुगेर सङ्क्रमितको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि त्यसको रिपोर्ट आउन ढिलो हुँदा जोखिम झनै बढेर गएको छ । स्वाब सङ्कलन गरी पठाएको १०÷१२ दिनसम्म पनि रिपोर्ट नआउँदा सङ्क्रमितको परिवारमा समेत समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा समेत अन्योलको साथै थप त्रास सिर्जना गरेको छ । स्वाब सङ्कलन गरिएकाको रिपोर्ट नआउादै मृत्यु हुने र केही बिरामीको रिपोर्ट आउनुभन्दा अगाडि नै ठीक भएका घटनाले सङ्क्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको छ । जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा रहेका हरिनास र कालीगण्डकी  गाउँपालिका तथा चापाकोट नगरपालिकामा स्वाबको रिपोर्ट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुखहरूको भनाइ छ ।  कालीण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समयसम्म स्वाबको रिपोर्ट नआउँदा आफूहरूलाई व्यवस्थापनमा समस्या भएको बताए । थापाले भने, “गाउँगाउँमा पुगेर स्वाब सङ्कलन गरेर पठायो, लामो समयसम्म रिपोर्ट आउँदैन, त्यसअवधिमा मानिसहरू हिँडडुल गर्दा सङ्क्रमण बढ्ने जोखिम रहेको छ ।” 
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको पनि भनाइ उस्तै छ । स्वाब परीक्षणको लागि पठाएका व्यक्तिको रिपोर्ट नआउँदै मृत्यु भएको अवस्थामा दाहसंस्कार गर्न समेत समस्या हुने गरेको उनी बताउँछन् ।  जिल्लामा मङ्गलबारसम्म एक हजार १८५ जना सङ्क्रमित भएका छन् भने १११ जना निको भएर घर फर्किएका छन् । मृत्यु हुनेहरूको सङ्ख्या ५२ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ पुरुष र १७ महिला गरी ५२ जनाको उपचार भइरहेको छ ।  जिल्लामा ३१७ आइसोलेसन शय्या र १९९ अक्सिजन सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । होम आइसोलेसनमा ४७३ महिला र ४५९ पुरुष रहेका छन् भने आइसोलेसन केन्द्रमा आठ महिला र २९ पुरुषको उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार