सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (एमाले)का नेताहरुले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि बनाइएको आचारसंहिताको ठाडो उल्लंघन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा तथा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले उम्मेदवारका पक्षमा मतदान मागेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका हुन् । एमालेले गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक तथा शिक्षामन्त्री श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै दलविहीन, निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आह्वान गरेका हुन् । यो प्रदेशमा उक्त उपनिर्वाचन बिहीबार निर्वाचन हुँदैछ । सूर्य चिन्हका उम्मेदवार बादललाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उनले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न एमालेका जनप्रतिनिधिलाई चेतावनी पनि दिएको छ । ‘‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिषाबले गम्भीर अपराध हुने छ ।’’ अपिलमा भनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उनले अन्य दललाई पनि बादलका पक्षमा साथ दिन आग्रह गरेका हुन् । यसैबीच निर्वाचनको सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपनिर्वाचनका लागि तीन वटै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीसहित २४ जना कर्मचारी जनशक्ति खटिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ । उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् । निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी छन् ।