मौन अवधिमा मत माग्दा निर्वाचन स्वच्छतामा आघात पार्छ : निर्वाचन आयोग

आचारसंहिता विपरीतका वक्तव्यप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण 
बुधबार, जेठ ५, २०७८

काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अपिल जारी गरेर एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापालाई भोट दिनू भनेपछि आयोगको विज्ञप्ति आएको हो ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।'
जेठ ६ गते बिहीबार वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनको तयारी पूरा भएको पनि आयोगले जानकारी दिएको छ । जसका लागि मंगलबार राति १२ बजेदेखि मौन अधवि सुरु भएको छ । मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर त्यसको उल्लंघन गरेका थिए । 'यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार