नेपालमा देखा परेको कोरोना भाइरसको नयाँ भेरिअन्ट कति चिन्ताजनक छ ? 

बुधबार, जेठ ५, २०७८

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलबार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो। हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलबर जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई भेरिअन्ट अफ ग्लोबल कन्सर्न भनेर वर्गीकरण गरेको थियो । अरू भेरिअन्टको तुलनामा बी.१.६१७ को उत्परिवर्तन अझ सजिलै हुने प्रारम्भिक अध्ययनहरूबाट देखिएको र त्यसबारे थप अध्ययन आवश्यक रहेको मे ११ तारिखमा डब्ल्यूएचओले भनेको थियो ।

यो कस्तो भेरिअन्ट हो ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी.१.६१७ भेरिअन्ट पुष्टि भएको थियो । डब्ल्यूएचओले मे १२ तारिखमा जनाएअनुसार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखिएको थियो । भारतसँग खुला सिमाना रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो । त्यो चाहिँ अहिले सत्य साबित भएको छ, अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत भाइरोलोजिस्ट डा.सुदीप खड्काले टेलिफोनमा भने । 'नेपालमा पूरै जिनोम सिक्वेन्सिङ गर्न सक्ने अवस्था नभएका कारण पुष्टि हुन समय लागेको' उनी बताउँछन्। उक्त भेरिअन्टको प्रकृतिबारे डा. खड्काले थपे, 'यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।' तर वास्तवमै यसको के कति प्रभाव छ भन्ने कुराको निर्क्योल हुन अझ बाँकी नै छ।

नेपालमा कसरी पुष्टि भयो ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय भारतमा जस्तै सङ्क्रमणदर देखिन थालेपछि जिन सिक्वेन्सिङका निम्ति नमुनाहरू सङ्कलन गरियो। यसरी छिटो सङ्क्रमण फैलिनुमा कुन भेरिअन्ट जिम्मेवार छ भनेर हामीले सुदूरपश्चिमस्थित प्रवेशबिन्दुदेखि लिएर देशका विभिन्न ठाउँबाट नमुनाहरू सङ्कलन गरी भारत पठायौँ, उनले भने । कुल ३५ वटा नमुनामध्ये ३४ वटामा .१.६१७.२ भेरिअन्ट र एउटामा बी.१.६१७.१ भेरिअन्ट पुष्टि भयो । नेपालमा गत चार हप्तामा तीव्र गतिमा सङ्क्रमण फैलिनुमा त्यही भेरिअन्ट जिम्मेवार रहेको डा. पौडेल बताउँछन् । 

कुन उमेर समूहलाई बढी प्रभाव पार्छ ?
नेपालमा मङ्गलवार पुष्टि भएको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि नेपालमा अझै पर्याप्त परीक्षण नगरिएकोले ठोकुवा गरेर भन्न गाह्रो हुने भाइरोलोजिस्ट खड्का बताउँछन् । तर अहिलेसम्म यो भाइरसले सङ्क्रमित बनाएको उमेर समूहलाई हेर्दा १८ देखि ५० वर्षसम्मको समाजमा जुन चलायमान उमेर समूह छ सङ्ख्यात्मक रूपमा त्यही बढी सङ्क्रमित भएको देखिन्छ। तर मृत्यु चाहिँ ६० वर्षमाथि बढी छ।

यो भेरिअन्टमाथि खोपले काम गर्छ ?
यो कुरा थाहा पाउने अझै समय भइसकेको छैन। यो भेरिअन्टलाई खोपले काम नगरेको भन्ने विषयमा तथ्याङ्कहरू उपलब्ध छैन । दक्षिण अफ्रिकी भेरिअन्टका सम्बन्धमा सुरुमा अनुमान गरिए भन्दा खोप बढी प्रभावकारी देखिएको छ।

के यो बढी सङ्क्रामक छ ?
यूकेमा पनि अहिले सङ्क्रमण फैलिनुका एक प्रमुख कारण यो भेरिअन्ट रहेको बताउँदै त्यहाँको सरकारले यो यूके भेरिअन्टभन्दा सजिलै सङ्क्रमण फैलिने देखिएको बताएको छ । यूके सरकारको वैज्ञानिक सल्लाहकारहरूले 'आफूहरू यूके भेरिअन्टभन्दा यो बढी सङ्क्रामक भएकोमा विश्वस्त रहेको र यसको सङ्क्रमणदर ५० प्रतिशतसम्म बढी हुन सक्ने' बताएका छन् । तर यो विषयमा निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको ती वैज्ञानिकहरूले बताएका छन् ।

रोकथाम तथा नियन्त्रणका लागि के गर्ने ?
रोकथाम तथा नियन्त्रणका लागि परीक्षण बढाउनुका साथै खोप अभियानमा तीव्रता दिनुको विकल्प नरहेको भाइरोलोजिस्ट डा‍‍. खड्का बताउँछन् ।  त्यसका साथै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने लगायत जनस्वास्थ्यका जेजति मापदण्ड सुन्दै आएका छौँ त्यसलाई सबैले निरन्तरता दिनुपर्ने हुन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेल पनि सावधानी अपनाउनुको विकल्प देख्दैनन् । जुनसुकै भेरिअन्ट भए पनि सबैभन्दा मुख्य कुरा जनस्वास्थ्यका मापदण्डको पालनामा सबैजना चनाखो सचेत र सजग हुनुपर्ने हुन्छ । यो भेरिअन्ट हकमा अब हामीले थप सतर्कता र होशियारी अपनाउनुपर्ने स्पष्ट भएको छ, उनले थपे।
सङ्क्रमण रोकथाम तथा नियन्त्रणको प्रयासमा हाल देशका सबैजसो जिल्लामा निषेधाज्ञा लागु छ।-बीबीसी 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार