बेलायत जाने सपनामा सूर्य नेम्बाङबाट ठगिएका गोर्खा परिवारको पीडा

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसामा बेलायत पठाउने भन्दै गरिएको ठगीबाट पीडित भूपू गोर्खा सैनिक परिवारका आफन्तहरूले क्षतिपूर्तिसहित आफ्नो पैसा फिर्ता गरिदिन माग गरेका छन् ।
वर्षौदेखि बेलायतको आवासीय भिसा मिलाइदिने प्रलोभन देखाउँदै एउटै परिवारबाट न्यूनतम तीन लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म असुलेर भाग्दै आएका पाँचथरका सूर्य नेम्वाङ प्रहरी नियन्त्रणमा छन् । नेम्वाङलाई काठमाडौंको टेकु प्रहरीले नियन्त्रण लिए पनि राजनीतिक दबाबमा छाडिने त्रासमा रहेका पीडितहरू आफ्नो पैसा साँवा–ब्याजसहित फिर्ता गर्न माग राख्दै मिडिया र प्रहरी कार्यालय धाइरहेका छन् ।
लन्डनको अल्डरसटमा ‘नेम्वाङ लिमिटेड यूके कम्पनी’ र काठमाडौको बसुन्धरामा  ‘गार्डियन एडभाइजर’ नामक कम्पनी खोलेर गोर्खा परिवारलाई बेलायत पठाउँदै आएका नेम्वाङले आवासीय ब्रिटिश भिसा दिलाउने भन्दै करिब दुईसय व्यक्तिबाट ठूलो रकम असुलेको र  पैसा फिर्ता नदिएको पीडितहरूको भनाइ छ । गौरीगञ्ज गाउँपालिका १ झापाका गंगाप्रसाद लिम्बुले आफ्नो परिवारका चारजनाबाट झण्डै २१ लाख रुपैयाँ नेम्वाङले ठगी गरेको बताए । आफूले बेलायत जान पाउने भन्दै २०७६ सालमा घरखेत बेचेर तथा ऋण निकालेर नेम्वाङलाई दिएको पीडित लिम्बुले नेपाल न्यूज बैंकलाई बताए । तर, नेम्वाङले चार वर्षसम्म भिसा पनि दिलाउन नसकेको र पैसा पनि फिर्ता नदिएको उनको भनाइ छ  ।

Web-Post-(10)-1706881057.jpg

‘झापाबाट काठमाडौं बोलाउनु भयो, गोर्खाका सन्तानलाई भिसाका लागि काम गर्न यूके र नेपालमा अफिस खोलेर बसेको छु, ढुक्क हुनोस् भन्नुभयो’, लिम्बुले भने, ‘हामी तीन दाजुभाई, एक दिदी गरी चारजनाले उहाँको बैंक खातामा १८ लाख रुपैयाँ पठाएका हौं, अन्य तीन लाख रुपैंयाँ हाताहाती दिएका हौं । हामीसँग प्रमाण छ ।  तर एकजनाको लागि सुरुमा प्रक्रिया गर्नुभयो । अरु तीनजनाका बारेमा मौन बस्नुभयो । त्यसपछि हामीले धोका पायौं ।’
घर र जमिन धितो राखेर पैसा दिँदा आफूहरू ठगिनु मात्र नभइ बिचल्लीमा परेको उनले सुनाए । ‘आवासीय भिसा पाइन्छ भने ठिकै छ नि भनेर घर र जग्गा धितो राखेर पैसा बुझायौं । सूर्य नेम्वाङलाई विश्वास गरेका हौं । तर अहिलेसम्म काम केही नभएपछि ब्याज तिर्न धौ धौ भइरहेको छ । बाध्य भएर कानुनी बाटो रोजेका हौं । परिवारका चारैजनाले जाहेरी दिएका छौं,’ उनले भने ।
नेम्वाङबाट ठगिएकी रमिला राईको व्यथा पनि उस्तै छ । आफूलाई वकिल बताउने सूर्य नेम्वाङप्रति सुरुमा धेरै विश्वास लागेको भए पनि उनको गतिविधिले शंका जन्माउनु मात्र नभइ अहिले आएर बल्ल आफू फसेको चाल पाएको उनले सुनाइन्  । आफूबाट चार लाख रुपैयाँ लिएर भिसाको प्रक्रिया समेत नगरिदिएको उनको दुखेसो छ । आफूले अहिलेसम्म सात लाख रुपैंयाँ बुझाइसकेको रमिलाका दाजु चन्द्रप्रसाद राईले सुनाए ।
‘काम गरिदिने विश्वास दिलाएपछि जति जति पैसा भन्यो, बहिनीले त्यति नै पैसा पठाइन् । आवश्यक कागजपत्र समेत बुझाइन् । अपिलको लागि २८ दिनभित्र बुुझाउनुपर्ने विधि प्रक्रिया पु¥याइदिइन् । अहिले बहिनीले घर धितो राखेर ब्याज तिरिरहेकी छन् ।’
बेलायतको आवासीय भिसा मिलाउने भन्दै नेम्वाङले अहिलेसम्म करिब ६ सय भूतपूर्व गोर्खाका परिवारलाई ठगेको पीडितहरूको दाबी छ । लण्डनको एउटा पाकिस्तानी ल फर्म ‘बोण्ड आडम्स् सोलिसिटर्स’को ’लिगल कन्सल्टेन्ट बताउने नेम्वाङलाई भिसा मिलाउने धन्दामा आफ्नै श्रीमती लिना नेम्वाङले  साथ दिँदै आएको पीडितहरूको भनाइ छ ।
नेपालका आवेदकका सबै कागजात, राहदानी, बैंक कार्ड नेम्बाङले जफत गरेको, ब्यारिस्टर र अदालतमा मिलाउनुपर्ने भन्दै बेलायतमा रहेका भूपू सैनिक परिवारबाट तीन लाख रुपैंयाँमा सकिने कामलाई १० लाख रुपैंयाँसम्म असुल्ने गरेको पीडितहरूले बताए ।


नेम्वाङले सोलिसिटर र कोर्ट फिबाहेक पाँच हजार पाउण्ड (आठ लाख रुपैयाँ) न्यूनतम रकम लिए पनि  काम नगर्ने गरेको पीडितले बताएका छन् ।
नेपालमा उनको ठगीविरुद्ध कसैले केही आवाज उठाए गुण्डा अगाडि सारेर हात खुट्टा भाँचिदिने धम्की दिने गरेको पीडितहरू बताउँछन् । पटक पटक पैसा फिर्ता गरिदिन आग्रह गर्दा कतै उजुरी दिए बेलायतमा रहेका आमाबुवालाई समेत नेपाल फकाईदिने चेतावनी दिने गरेको पीडित मध्येका एक दिल प्रसाद लिम्बुले बताए ।
अहिले नेम्वाङलाई पक्राउ गरेर उपत्यका प्रहरी परिसर टेकु काठमाडौंको नियन्त्रणमा राखिएको छ । नेम्बाङका बारेमा नेपाल न्यूज बैंकले जानकारी लिन खोज्दा घट्नाका बारेमा अनुसन्धान जारी रहेकाले अहिले सबैकुरा भन्न नमिल्ने प्रहरी नायव उपरिक्षक (डिएसपी) अंगुर जिसीले बताए ।
उनले भने, ‘भूतपूर्व गोर्खा सैनिकका परिवारको जाहेरीपछि पाँचथरका सूर्य नेम्वाङलाई चारदिन अघि पाँचथरबाट पक्राउ गरि ल्याएका छौं । जिल्ला अदालत काठमाडौंबाट चार दिनको .म्याद थपगरी ठगी कसुरमा अनुसन्धान गरिरहेका छौं । तीन जनाले उहाँ विरुद्ध उजुरी दिएका छन् । जाहेरीमाथि अनुसन्धान जारी रहेकाले थप भन्न मिल्दैन ।’


आफूलाई गोर्खा अभियन्ता तथा समाजसेवी बताउँदै आएका नेम्बाङको जीवन शैलीमा अस्वाभाविक परिवर्तन आएको उनलाई चिन्नेहरू बताउँछन् । हालै फिदिम नगरपालिकामा लिफ्ट भएको घर बनाएका उनको सम्पत्तिको श्रोतको बारेमा सम्पत्ति शुद्धिकरण विभागले पनि छानबिन गरिरहेको छ ।
सन् २००९ देखि बेलायतले भूतपूर्व गोर्खा सैनिकका परिवारका सदस्यहरू पनि आवासीय भिसामा बेलायत बस्न सक्ने कानुन बनाएको हो । सुरुमा गोर्खाका १८ वर्षमुनीका छोराछोरी र श्रीमतीलाई भिसा दिने गरेको थियो । पछि सन्तानहरूले उमेरहद बढाउन माग गरेपछि सन् २०१९ देखि बेलायत सरकारले सो को दायरा बढाएर ३० वर्ष कायम गरेको छ ।
तर, व्यक्तिको केस अध्ययनका आधारमा बेलायतले ३० वर्षमाथिका गोर्खा परिवारलाई समेत बेलायतका लागि बसोबाससहितको भिसा दिने गरेको छ । भिसा आवेदनका लागि गोर्खा परिवार आफैंले अनलाइनमार्फत गर्न सकिने व्यवस्था छ । तर गाउँ र दूरदराजका मानिसहरूलाई भिसा प्रक्रिया मिलाउन झन्झट हुने भन्दै काठमाडौंमा विभिन्न कन्सल्टेन्सीहरूले सेवा शुल्क लिएर भिसा प्रक्रियाको काम गर्ने गरेका छन् । तर त्यस्तो सेवा शुल्कमा एकरुपता न भएको पीडितहरू बताउंछन् ।–नेपाल न्यूज बैंकका लागि नरेशकुमार जोशीको रिपोर्ट

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार