सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि निर्वाचन भएको छ । १९ सिटका लागि भएको निर्वाचनमा १८ सिट सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । कोसी प्रदेशमा भने गठबन्धन दललाई धक्का लागेको छ । त्यहाँ एमालेकी महिला क्लस्टरमा रुक्मिणी कोइराला विजयी हुँदै एमालेको साख जोगाइन् । दिउँसो नेपाल न्यूज बैंकले ‘निर्विवाद हुन सकेनन् अध्यक्ष तिमिल्सिना’ शीर्षकमा आज साँझ बिदा हुन लागेका राष्ट्रिय सभा अध्यक्षको कार्यकालको समीक्षाबारे रिपोर्टिङ गरेको छ । दलबाट निर्वाचित भएर पुगे पनि संसद्का अध्यक्ष, उपाध्यक्ष पदहरु सबैको साझा व्यवहारको पदीय दायित्व भएको हो । तर, पदावधिभर सबैभन्दा बढी विदेश सयरको अवसर पाएका तिमिल्सिना विवादरहीत हुन सकेनन् । आफ्नो दल एमालेप्रति बढी वफादार भएको उनीमाथि आरोप लाग्यो ।
प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभा सक्रिय रहेको अनुभूति दिलाउन नसकेको साथै विभिन्न समितिहरुलाई सक्रिय बनाउन नसकेकोप्रति तिमिल्सिनामाथि प्रश्न उठ्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गर्दा राष्ट्रिय सभा निष्क्रिय गराएको उनीमाथि आरोप छ । त्यसगरी, आज दिउँसो नेपाल न्यूज बैंकले संसदको हिउँदे अधिवेशनको तयारीबारे समाचार लेख्यो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको भन्दै आफूहरु कर्मचारी व्यवस्थापनदेखि अन्य प्राििवधिक तयारीमा जुटेको बताए । समग्रमा आज ‘अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै,’ ‘केही व्यक्ति समाजको हारमोनी बिगार्न लागिपरेका छन् ः प्रधानमन्त्री,’ ‘पाठ्यपुस्तक छपाइ धमाधम, समयमै पु¥याउन निर्देशन,’ ‘समुदायमा कांग्रेस अभियानमा केन्द्रीय प्रतिनिधि परिचालन,’ ‘नेप्से निरन्तर ओह्रालो, साताभरि ७१ अंकको गिरावट,’ ‘जाजरकोट भूकम्पमा अभिभावकविहीन ३० बालबालिका मामाघर आश्रममा’ लगायत समाचारले चर्चा पाए ।
यी हुन् आजका मुख्य समाचारहरु : निर्विवाद हुन सकेनन् अध्यक्ष तिमिल्सिना बिहीबार साँझ राष्ट्रिय सभा निर्वाचन सकिएसँगै एक स्वतन्त्रसहित २० सांसद बिदा हुँदैछन् । २०७४ फागुनबाट २०८० फागुनसम्म कायम भएका उनीहरु बिदा हुन लागेका हुन् । अहिले बिदाइ हुन लागेका एक तिहाइ राष्ट्रिय सभा सदस्यले ६ वर्ष अवधि पूरा गर्दैछन् । यस पटक अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सबैभन्दा धेरै एमालेबाट निर्वाचित नौ सदस्यहरु राष्ट्रिय सभामा देखिने छैनन् । तिमिल्सिनाले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए । एमालेका अन्य सदस्यहरुमा सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरिया, लुम्बिनीबाट खिमलाल भट्टराई, गण्डकीबाट दीपा गुरुङ, वाग्मतीबाट दिलकुमारी रावल थापा, रामचन्द्र राई, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, बिदा हुँदैछन् । कांग्रेसबाट चारजना सदस्यहरु बिदा हुनेछन् । जसअन्तर्गत लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेशबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ, कोशी प्रदेशबाट रमेशजंग रायमाझी सदनमा देखिने छैनन् । माओवादी केन्द्रका तीन सदस्यहरुमध्ये सुदूरपश्चिमबाट महेशकुमार महरा, कोशीबाट बिना पोखरेल, सुदूरपश्चिमबाट हरिराम चौधरीले छुट्टी लिनेछन् ।
एकीकृत समाजवादीबाट प्रतिनिधित्व गरेका कर्णालीबाट नन्दा चपाई र वाग्मतीबाट सिंगबहादुर विश्वकर्माको बिदा हुनेछन् । जनता समाजवादी पार्टीका मधेस प्रदेशबाट प्रमिला कुमारी र वाग्मतीबाट स्वतन्त्र सदस्य खिमलाल देवकोटाको बिदाइ हुनेछ । यसअघि दुई वर्ष र चार वर्ष समयावधि पाएका सदस्यहरु बिदा भइसकेका छन् । राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । संविधान जारी भएर पहिलो निर्वाचन सम्पन्न भएपछि गोला प्रथाबाट सांसदहरुको पदावधि तय गरिएको थियो । यसै सिलसिलामा बिदा हुन लागेका अध्यक्ष तिमिल्सिनाको ६ वर्षे कार्यकालको समीक्षात्मक बहस सुरु भएको छ । कार्यकालभर सबैभन्दा बढी विदेश सयरको अवसर पाएका तिमिल्सिना विवादरहीत हुन सकेनन् । आफ्नो दल एमालेप्रति बढी वफादार भएको उनीमाथि आरोप लाग्यो । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभा सक्रिय रहेको अनुभूति दिलाउन नसकेको साथै विभिन्न समितिहरुलाई सक्रिय बनाउन नसकेकोप्रति तिमिल्सिनामाथि प्रश्न उब्जियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गर्दा राष्ट्रिय सभा निष्क्रिय गराएको उनीमाथि आरोप छ । जनसरोकारका विषय उठाउनेदेखि सरकारलाई खबरदारी गर्नुको साटो ओलीकै पथमा हिंडेको भन्दै अध्यक्षमाथि सांसदहरुले आलोचना गरेका थिए । प्रतिनिधि सभा निष्क्रिय हुँदा विषयगत समितिहरुको बैठक राखेर माथिल्लो सदन चलायमान राख्न सकिने आधारहरु हुँदाहुँदै अध्यक्ष तिमिल्सिनाले चासो नदेखाएको भन्दै उनले अनेक आरोपहरु खेपे । विशेषगरी २०७७ पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरे पनि १७ पुसमा राष्ट्रिय सभाको अधिवेशन बोलाए तर उक्त अधिवेशन जम्मा चार दिनमा सात घण्टा बसेर सकियो । किनकी अधिवशेनमा सांसदहरुले प्रतिनिधि सभा विघटनका विरुद्ध चर्को स्वर गरेपछि त्यसलाई मत्थर पार्न र ओलीको बचाउ गर्न लागिएको आरोप तिमिल्सिनामाथि लाग्यो ।
प्रतिनिधि सभा विघटन र पुनःस्थापनाको शृंखला चलिरहँदा राष्ट्रिय सभा मृततुल्य थियो । सरकारलाई खबरदारी गर्ने र जनसरोकारका विषयमा आवाज उठाउने दायित्वबाट अध्यक्ष भागेको आरोप लाग्यो । राष्ट्रिय सभालाई स्थायी र जीवित सभा भनिए पनि कतिपय अवस्थामा यसलाई मूकदर्शक बनाएको आरोप उनको टाउकोमा थुपरियो । प्रतिनिधिसभा विघटन गरेर संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारीहरु नियुक्ति गर्दा पनि अध्यक्ष मूकदर्शक बने । संवैधानिक संकुचन, राजनीतिक उतारचढाव, प्राकृतिक तथा मानवीय विपत्ति लगायतका कारण राष्ट्रिय सभाको क्रियाशीलतामा प्रभाव पर्नु स्वाभाविकै भए पनि राजनीतिक आस्था र निहीत स्वार्थका कारण राष्ट्रिय सभालाई विवादमा ल्याउने काम उनले गरेका थिए । २०७४ फागुन २० मा राष्ट्रिय सभा सदस्यको चुनावबाट अध्यक्ष बनेका उनले आफ्नो कार्यकालमा १८ पटक विदेश भ्रमण गरे । यस क्रममा एक सय दिन विदेशमै बिताए । राष्ट्रिय सभाको गरिमालाई बढाउन र सिस्टम बसाउनुको साटो विदेश भ्रमणलाई मात्र प्राथमिकता दिंदा अध्यक्ष तिमिल्सिना बढी आलोचित बने । एकै महिनामा दुईपटकसम्म विदेश भ्रमणमा निस्किएका उनी तुलनात्मकरुपमा ज्यादा विदेश भ्रमण गर्ने सरकारी प्रतिनिधिका रुपमा दरिए । त्यतिमात्र होइन राष्ट्रिय सभा चलिरहँदा पनि कतिपय परिस्थितिमा रुलिङ नगरेकामा उनी आलोचित बने । सभामुखको राजीनामा माग्दै राष्ट्रिय सभामा अवरोध गरिँदा उनले कुनै रुलिङ नगर्दा आलोचना खेपे । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँग कतिपय विषयबस्तुमा विमति रहँदा अध्यक्ष तिमिल्सिनाको भूमिकामाथि प्रश्न उब्जियो । २०७९ असोज १ पछि सभामुख र उपसभामुख समेत रहेर व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्न संसद सचिवालयमा निर्देशन दिएपछि थप विवादमा आए । तत्कालीन सभामुख सापकोटासँग उनको टकराव लामो समयसम्म कायम रह्यो । तत्कालिन ओली सरकारले बिभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति प्रकरणमा पनि सभामुख र अध्यक्ष तिमिल्सिनाबिच टकराव बढ्दा त्यसको असर राष्ट्रिय सभामा समेत पर्यो । प्रतिनिधि सभा विघटन गरेको र त्यसअवधिमा संसदीय सुनुवाइ समिति नरहेको आधारमा सभामुख सापकोटाले संवैधानिक परिषद्ले गरेको नियुक्तिको कागजात फिर्ता गराइदिएपछि अध्यक्ष र सभामुख आमने सामने भए । त्यस क्रममा तिमिल्सिनाले संवैधानिक नियुक्तिको बचाउ गर्दै सभामुखको विरोध गरेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता, संघीय संसदको महासचिव नियुक्तिको समयमा पनि सभामुख र अध्यक्षबिच टकराव बढेको थियो । त्यतिमात्र होइन सरकारी निवासको प्रयोगको विषयमा समेत पूर्वसभामुख कृष्णबहादुर महरा हटेपछि खाली भएको भवनमा तत्कालिन सरकारले अध्यक्ष तिमिल्सिनालाई राखेको थियो । सभामुख बस्दै आएको उक्त निवास सापकोटालाई दिनुपर्ने आवाज उठ्दा त्यहाँ राजनीतिक पूर्वाग्रह प्रष्ट देखिएको थियो । विवादमा आएका बेला अध्यक्ष तिमिल्सिना भने राजनीतिक पूर्वाग्रहका कारण आफूलाई विवादमा ल्याउने गरेको प्रतिक्रिया दिने गरेका छन् । स्वच्छ छवि र लगानशील नेताको परिचय बनाएका तिमिल्सिनाका ६ वर्ष सन्तोषजनक रहे पनि विवादरहीन हुन भने नसकेको घटनक्रमले देखाइसकेको छ । फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल सफल भएको हो । यता, बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।
एमाले लगातार ६ वर्षदेखि राष्ट्रियसभाको पहिलो दल थियो । २०७४ माघ २४ मा भएको निर्वाचनबाट पहिलो बनेको एमाले बिहीबारदेखि तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा एमालेका १७ जना सांसद थिए । ८ जनाको पदावधि सकिएर बिदा हुने बेलामा राप्रपासँग तालमेल गरेर कोशीमा एक सिट जिते पनि ७ सीट गुमाएको छ । अब १० जना सांसद हुने भएकाले प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको हो । राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी (जसपा) का ३ संसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १÷१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रदेशहरुबाट ८÷८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् । नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेकाहरुको पदावधि २०७६ फागनु २१ मा सकिन लाग्दा माघ ९ मा १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट तत्कालीन एमाले–माओवादीको नेकपाले १६ सिट जितेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन जनाबाहेक ४७ जना नेकपाका सांसद थिए । एक भएका एमाले–माओवादी वैधानिक कारणले छुट्टिए भने एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपाल समूहले छुट्टै दल एकीकृत समाजवादी गठन गरेका छन् ।
के हुँदैछ संसदको हिउँदे अधिवेशनमा ? संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशन आह्वान गरेका हुन् । संसद सचिवालय आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएको र सोहीअनुसार तयारीमा जुटेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले सांसदहरुलाई बैठकबारे जानकारी गराइएको र आवश्यक थप आन्तरिक एवं प्राविधिक तयारीका कामहरु अगाडि बढाइएको बताए । उनले भने, ‘सभा सञ्चालन सचिवालयभित्रको मुख्य उद्देश्य तथा विषय हो । सभा नभएका बेलामा यहाँ कार्यरत कर्मचारीहरुलाई अन्य जिम्मेवारी दिइएको अवस्था पनि छ । त्यसै कर्मचारी व्यवस्थापन भइहाल्यो । त्यस्तै सभामा प्रवेश गराउने विषयसूचीको तयारीमा जुटेका छौं ।’
कुन कुन विधेयकले संसदको हिउँदे अधिवेशनमा प्रवेश पाउने कार्यसूची तयार हुँदैछ भन्ने प्रश्नमा उनले भने, ‘नीति निर्माणको एउटा प्रकृया हुन्छ । त्यहीअनुसार विधेयकहरु समितिमा जाने हो । समितिमा छलफलपछि उसले प्रतिवेदन पेस गर्छ, त्यहीअनुसार छलफल हुने भएकाले हामी अनुमानका भरमा वार्षिक क्यालेण्डर तयार गर्छौं । समितिले प्रतिवेदन के कसरी पेस गर्छ त्यहीअनुसार अगाडि बढ्छ ।’ प्रतिनिधि सभाको कुरा गर्नुपर्दा विषयगत समितिहरुमा हाल १२ वटा विधेयकहरु रहेको उनले बताए । ‘जो अहिले पनि छलफलको क्रममा छन् । समितिहरुबाट ती विधेयकमाथिको प्रतिवेदन सभामा प्रस्तुत हुन आएमा प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक सभामा प्रस्तुत भइसकेकाले त्यसमाथिको छलफल अगाडि बढ्ने उनले बताए । त्यस्तै, निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन, टीआरसी लगायतका विधेयक छलफलका प्रमुख विषय बन्ने उनको भनाइ छ । हाल समितिमा दर्जन विधेयक विचाराधीन छन् । अधिवेशन चालु भएपछि समितिका सभापतिले प्रतिवेदन संसदमा प्रस्तुत गर्ने र त्यसपछि पारितको प्रक्रियामा जाने संवैधानिक व्यवस्था छ । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, विद्यालय शिक्षा विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक सँग सम्बन्धित विधेयक समितिमा छलफलकै क्रममा छन् । समितिलाई छलफलका लागि समय तोकेर सीमित नगरिएकाले विधेयकहरुको चाङ छ । संसदमा टेबुल भएका विधेयकमाथि पनि सांसदहरु छलफल गर्न उदासीन देखिन्छन् । संसदले महत्त्वपूर्ण कानुन बनाउन नसक्नुमा सत्तापक्ष र प्रतिपक्षीले एकले अर्कालाई दोष देखाउने प्रवृत्ति पुरानै हो । विभिन्न बहानामा लामो समयसम्म सदन अवरोध गर्नेदेखि सूचना टाँसेर स्थगित गर्ने थिति नै बसिसकेको छ । संसदको दोस्रो अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो । दोस्रो अधिवेशनले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्रै पारित ग¥यो । २०८० कात्तिक १६ सम्म जम्मा १८० दिन सदन चालु रह्यो, जसमध्ये ६१ दिनमा ६५ पटक बैठक बस्दा २४४ घण्टा ५० मिनेट ससंदीय काम भएको संसद सचिवालयको रेकर्डमा छ । यो अवधिमा संसदले मिटरब्याज पीडितलाई न्याय दिन ल्याएको विधेयक मात्र संघीय संसदले पारित गरेको हो । प्रवक्ता गिरीले हिउँदे अधिवेशन सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक, निर्माण सामग्री तथा निर्माण सम्बन्धी विधेयक, आर्थिक उत्तरदायित्व तथा वित्तीय ऐनलाई संशोधन गरेको विधेयक तथा नियमावलीका अन्य कुराहरुमा नै केन्द्रित रहने बताए ।
भूकम्पमा अभिभावकविहीन ३० बालबालिका आश्रममा जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा अभिभावक गुमाएका ३० बालबालिकालाई ललितपुरको मामाघर अनाथालय सपोर्ट एन्ड केयरमा ल्याइएको छ । जाजरकोटको कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाको सिफारिसमा बिहीबार ललितपुरको बाडेगाउँस्थित अनाथालयले उनीहरुको जिम्मा लिएको हो । उनीहरुलाई ललितपुर ल्याउने व्यवस्था बालयोगेश्वर विजयमूर्ति महाराजले मिलाएका हुन् । चार जनाको समूहमा करिब १० दिनको कठिन यात्रापछि प्रक्रिया पुरा गर्दै ३० जना बालबालिकाको लालनपालनको जिम्मा अनाथालयलाई लगाएको जानकारी उनले दिए ।
उनले भने, ‘अभिभावक गुमाएका बालबालिकाहरुका बारेमा हामीले समाचारबाट थाहा पायौं । भोजन, बासको अभावबाट धेरैले अकालमा ज्यान गुमाउनुप¥यो भन्ने थाहा पाउँदा हामीलाई असहनीय भयो । चार जनाको समूहमा ८–१० दिनको कठिन यात्रापश्चात सबैको साथ सहयोग र समन्वयमार्फत ३० जना बालबालिकाहरु जिम्मा लिने प्रक्रियाहरु पुरा गरेर हामीले ल्याएका छौं ।’ आश्रममा कुशे गाउँपालिकाको सिफारिसमा १७ र बारेकोट गाउँपालिकाको सिफारिसमा १३ जना बालबालिका ल्याइएको हो । यसमा २० बालक र १० जना बालिका छन् । यिनमा अधिकांश बालबालिका दलित समुदायका छन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भइ आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने ३७५ जना घाइते भएका थिए । घटनामा जाजरकोट र रुकुम पश्चिममा घरहरुमा क्षति पुगेको थियो । भूकम्पले घरबारविहीन भएका परिवारमा ज्वरो, झाडापखाला र चिसोले थप ३४ जनाको मृत्यु भएको थियो ।
नेप्से निरन्तर ओह्रालो, साताभरि ७१ अंकको गिरावट सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा कायमै छ । साताभरि घटेको नेप्से बिहीबार पनि एकल अंकले घटेको छ । यस दिन नेप्से सूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको छ । हप्तामा पाँच दिन कारोबार भएको नेप्से ७१.७१ अंकले घट्यो । नेप्से सूचक मात्र नभइ कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सात अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको बजारमा त्यसपछि निरन्तर गिरावट आएको हो ।
साताभरिमा करिब २६ अर्ब रुपैयाँको कारोबार भएको छ भने दैनिक औसत कारोबार पाँच अर्ब रुपैयाँ छ । बिहीबार घटेको बजारमा सामलिङ पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मिडसोलु हाइड्रोपावर कम्पनीको ८.७९ प्रतिशतले घटेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ५.९१ प्रतिशतदेखि ८.१२ प्रतिशतले बढेको छ । आज एक करोड १६ लाख कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम तीन अर्ब ७६ करोड रुपैयाँ छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । हिमालयन रिको २८ करोड ६७ लाखको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६४६ रुपैयाँ ८० पैसा रह्यो । दोस्रोमा रहेको ज्ञादी ग्रुप अफ पावरको १९ करोड ६५ लाखको कारोबार भएको छ भने तेस्रोमा अरुण काबेली पावरको ९ करोड १८ लाखको कारोबार भएको छ ।