आचारसंहिताविपरीत गतिविधिबारे प्रतिवेदन दिन आयोगको मोरङ प्रशासनलाई निर्देशन

बुधबार, माघ १०, २०८०

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्वाचन आयोगले मोरङ प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा विराटनगरमा विभिन्न राजनीतिक दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको सार्वजनिक भएपछि आयोगले त्यसबारे बुझेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । मौन अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था छ ।

ebulletin-default-photo (1)1669633489.jpg

उक्त व्यवस्थाविपरीत केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको जानकारी आएको भन्दै आयोगले त्यसबारे प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।  निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ विपरीतको कार्यभएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिबाट चुनाब प्रचारप्रसारमा रोक लगाएको छ ।  आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्मका लागि मौन अबधि तोक्दै राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रसारप्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नहुने जनाएको थियो । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बुधबार बिहान चियापानसहित भेला आयोजना गरेका थिए । यसैगरी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि भेला आयोजना गरेका थिए । कांग्रेसको भेलामा कोइराला, राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, सरिता प्रसाईँ, गगन थापालगायत नेताहरुका साथै विभिन्न जिल्लाका जनप्रतिनिधिहरु सहभागी थिए । यस्तै, एमाले र राप्रपाका उम्मेदवार तथा मतदाता सहभागी भेलालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले सम्बोधन गरेका थिए ।  राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट राप्रपाका उद्धव पौडेल र कांग्रेसका कृष्णप्रसाद सिटौला तथा महिलामा एमालेकी रुक्मिणी कोइराला र माओवादीका चम्पा कार्की उम्मेदवार छन् ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार