सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । वागमती प्रदेशमा भोलि बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ । निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् । स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।
मौनअवधि सोमबारदेखि नै उपनिर्वाचन प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु भएको छ । आयोगले सो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मात्र होइन मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेबारे राजनीतिक दल र उम्मेदवारको ध्यानाकर्षण गराएको छ । एसएमएस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएकाले आचरण पालना गर्न गराउन आयोगले सबैसँग अनुरोध पनि गरेको छ ।
लुम्बिनीमा दुईजनाको उम्मेदवारी
राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्का तथा दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ । खड्का नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभासदस्य निर्वाचनमा उम्मेदवार बन्नुअघि उनी काङ्ग्रेसमा आवद्ध थिए । दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् । यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेका छन भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । यस्तै कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेका छन् ।