सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो । एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए । उनले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भावका लागि आह्वान गर्ने निर्णय समेत गरिएकोे जानकारी दिए । आजको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णय गरेको छ ।
थापा आधिकारिक उम्मेदवार नेता ज्ञवालीले राष्ट्रियसभाको आशन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका रामवहादुर थापा ‘बादल’ लाई पार्टीले मतदान गर्ने निर्णय समेत गरिएको जानकारी दिए । कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए। उनले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको जानकारी दिए ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो । आजको बैठकमा विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित थिए । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।