थप ८ हजार २ सयमा कोरोना भाइरस सङ्क्रमण,  १९६ जनाको मृत्यु

मंगलबार, जेठ ४, २०७८

काठमाडौं । नेपालमा थप ८,२०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा १९६ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट झन्डै २१,००० परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । मन्त्रालयले मंगलबार प्रकाशित गरेडाँैको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमा उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी देखिन्छ।  मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,८९१ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा अहिलेसम्म कोभिड(१९ पुष्टि हुनेको सङ्ख्या ४ लाख ७२ हजार तथा निको हुनेको सङ्ख्या ३ लाख ५२ हजार नाघेको छ। कोभिडका कारण मृत्यु हुनेको कुल सङ्ख्या ५ हजार ४११ पुगेको छ।


अहिले देशभरि १ लाख १४ हजार ५२९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या उल्लेख्य छ।अहिले काठमाडौंमा  २,०४९ जना, ललितपुरमा ३६५ जना र भक्तपुरमा २२१ जना सङ्क्रमित थपिएका छन् ।  त्यसैगरी झापमा २५३, मोरङमा ५०७, सुनसरीमा २९८, काभ्रेपलाञ्चोकमा ३१५, चितवनमा ३०८, कास्कीमा २२९ र रूपन्देहीमा ३८० जनामा पनि कोभिड-१९ पुष्टि भएको छ। केही सातायता परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ। गत साता बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख र यो साता आइतवार अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ५,००० नाघेको सरकारले बताएको थियो। अहिले १ लाख ७ हजार ८२ जना सङ्क्रमित आफ्नै वासस्थानमा छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेशनमा छन्। कोभिडका कारण गम्भीर समस्या भएका बिरामीमध्ये १,५९० जना आईसीयूमा र ३९० जना भेन्टिलेटरमा छन् । 

भारतको स्थिति 
भारत सरकारले मङ्गलवार बिहान प्रकाशित गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा देशभरि २ लाख ६३ हजार ५५३ जनामा कोभिड(१९ पुष्टि भयो भने ४ हजार ३२९ जनाको मृत्यु भएको छ ।  सात दिनमा भारतमा सङ्क्रमणको वृद्धिदर ३.१६ प्रतिशतले घटेको देखिएको छ। तर मृत्यदर भने १.६ प्रतिशतले बढेको छ। चौबीस घण्टाको अवधिमा कोभिड-१९ का कारण मृत्यु हुनेमध्ये ७६ प्रतिशत मानिस १० वटा राज्यका हुन्। सरकारी तथ्याङ्कअनुसार अहिले भारतमा साढे ३३ लाख जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ। भारत सरकारका अनुसार मङ्गलवार बिहानसम्म ४.२ करोड मानिसले कोभिड खोपका दुवै मात्रा पाएका छन् भने १४.२४ करोड जनाले पहिलो मात्रा लगाएका छन्। महाराष्ट्र राज्यमा मात्र १,००० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको भारत सरकारले जनाएको छ। त्यसैगरी २४ घण्टाको अवधिमा पहिलो पटक चार लाखभन्दा बढी सङ्क्रमित निको भएका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार