सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकार गठनका विषयलाई लिएर झण्डै-झण्डै विभाजनको चरणमा पुगेको जनता जनता समाजवादी पार्टीका दुईवटै खेमा एक भएर मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै नेतृत्व पाए सरकारमा जाने बताएका छन् । राजनीतिमा संभावनाको खेल जारी रहन्छ भनेझै जसपालाई नेतृत्वमा ल्याएर विपक्षी गठबन्धनले नयाँ सरकार गठनको संभावनालाई फेरि एक पटक व्युँताइदिएको छ । ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपाका दुई खेमाको विज्ञप्ति आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केही दिन अघि महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने बताउनु तथा जसपा भित्रै पनि आन्तरिक रुपमा नेताहरु एक भएर विज्ञप्ति निकाल्नुलाई महत्वका साथ हेरिएको छ । कांग्रेसको नेतृत्वले यो विषयलाई कुन रुपमा हेर्छ त्यो भने हेर्न बाँकी नै छ । राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जसपाले स्पष्ट पारेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सक्ने बताएका हुन् । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् । ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’ समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समाधान गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ । पार्टीभित्र गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ ।