सोसल मिडिया
Contact Us
युनिकोड
सुरुङ्गा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले रु नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि रु दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो । बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।
तनहुँको जिपी कोइराला अस्पतालाई पनि नौ करोड बजेट
सङ्घीय सरकारद्वारा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु नौ करोड बजेट विनियोजन भएको छ । कोभिड लक्षित पूर्वाधार थप्न सङ्घीय सरकारले प्राथमिकता दिई बजेटको व्यवस्था गरेपछि उपचारमा सहज हुने भएको छ । उक्त केन्द्रमा पाँच भेन्टिलेटर र १०आइसीयू शय्या जडानका लागि रु छ करोड र अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनका लागि रु तीन करोड गरी जम्मा रु नौ करोड अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट आफ्नै भएपछि उपचारमा थप सहज हुने विश्वास गरिएको केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा कोभिडका बिरामी बढेपछि प्रतिनिधिसभा सदस्यद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ (किसान) तथा राष्ट्रियसभासदस्य भगवती न्यौपानेलगायतले अर्थ मन्त्रालयमा बजेटका लागि पहल गरेको बताइएको छ । त्यसैगरी अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम रु ३० लाख उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरु गण्डकी प्रदेश सरकारले रु ७५ लाख विनियोजन गरेपछि सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडानकार्य अघि बढाइएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको हो । कोभिडका बिरामीका लागि अस्पतालले छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था मिलाइएको छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले रु ७५ लाख विनियोजित गरेकामा रु ५३ लाखमा बोलपत्र स्वीकृत भई काम शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । बन्दाबन्दीको अवस्था भए पनि अत्यावश्यक क्षेत्र भएकाले उपकरण भारतबाट ल्याई छिट्टै प्लान्ट निर्माण गर्न लागिएको उनले बताए । अक्सिजन प्लान्ट निर्माणपश्चात दैनिक १० सिलिण्डर उत्पादन गर्न सकिने छ । अस्पतालमा उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । कोरोना लक्षित बिरामीका लागि अस्पतालमा भेन्टिलेटरसहितको अलग उपचारकक्ष सञ्चालन गरी १६ सङ्क्रमितको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख गुरुदक्त घिमिरेले बताए । उपचारका लागि अहिले चार चिकित्सक र चार स्टाफ नर्स परिचालन गरी सेवा प्रदान गरिएको छ । दमौली अस्पतालमा छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीका केही क्षेत्रका मानिस उपचारका लागि आउने अस्पतालले जनाएको छ ।