इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

मंगलबार, जेठ ४, २०७८

गाजा सिटी । इजरायली लडाकू विमानले गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भीषण आक्रमण गरिरहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भीषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमण ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थित नौ जना हमास कमान्डरका घरलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ । पछिल्लो आक्रमणबाट कोही घाइते भए वा नभएको बारेमा स्पष्ट भइसकेको छैन ।
आइतबार टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले पूर्णक्षमताका साथ हमास लडाकूविरुद्ध आक्रमण जारी राखेको बताउँदै यो अझै केही समय लाग्ने बताएका थिए । उनले हमासका विद्रोही समूहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । हमासका विद्रोहीले पनि इजरायलमाथि दबाब कायमै राखेको छ । गाजा शहरका बस्तीबाट हमासका लडाकूले इजरायलमाथि दिनहुँ क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।  यसअघि सन् २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो । तर यसपटकको आक्रमण सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताए । 
हमासले यसअघि गत सोमबार जेरुसेलममाथि क्षेप्यास्त्र प्रहार गर्न शुरु गरेको थियो जसका कारण इजरायलले गाजामाथि भिषण कारबाही थालेको हो । गाजामा भएका सयौं हवाई आक्रमणबाट हालसम्म कम्तीमा १८८ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ मारिनेमा ५५ जना बालबालिका र ३३ जना महिला छन् । आक्रमणबाट एक हजार २३० जना घाइते भएका छन् । गाजाबाट इजरायलतर्फ प्रहार गरिएका तीन हजारभन्दा बढी क्षेप्यास्त्रबाट हालसम्म आठ जनाको मृत्यु भएको छ । 
हमास र इस्लामिक जिहाद विद्रोही समूहले आफ्नातर्फ २० जना लडाकू मारिएको स्वीकार गरेका छन् तर इजरायली सेनाले यो भन्दा अझ ठूलो सङ्ख्यामा लडाकू मारिएको जनाएको छ ।  पछिल्ला आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसङ्घीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी गराएका छन् ।
इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । 
प्यालेस्टिनी विदेशमन्त्री रियाद अल–मलिकीले सुरक्षा परिषद् समक्ष इजरायली आक्रमण रोक्नेतर्फ तत्काल पहल गरिदिन आग्रह गरेका छन् । तर राष्ट्रसङ्घका लागि इजरायली राजदूत जिलाड एर्डानले राष्ट्रसङ्घ समक्ष इजरायल विरुद्ध आक्रमण रोक्न हमासलाई दबाब दिन आग्रह गरेका छन् ।–एपी
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार