सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना सङ्क्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका हुन् । मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस सङ्क्रमित भएकोमा पछिल्ला केही दिनमा यो संख्या घट्दै गएको देखिएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका चार हजार १०६ जनाको यो कारोना सङ्क्रमणबाट मृत्यु भएको छ । सोमबारको यो तथ्याङ्कसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म दुई लाख ७४ हजार ३९० जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कूल संख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहजरुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । सङ्क्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बईसमेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् । पछिल्ला केही दिनमा कोभिडका सङ्क्रमितको सङ्ख्या बढेसँगै ठूलो सङ्कट बढ्दै गएको छ । यो सङ्कटको सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति र अत्यावश्यक औषधि तथा अस्पतालमा अत्यावश्यक सेवाको पनि चरम अभाव भएको छ ।–सिन्ह्वा