सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्तराष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७) का मुलुकलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेकी छन् । विश्वका न्यून तथा मध्यमआय भएका मुलुकका लागि खोप खरिद एवम् वितरण गर्नेगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् । बेलायतको राजधानी लन्डनमा आगामी जुन महिनामा जी–७ का नेताको शिखर सम्मेलन हुँदैछ । वैज्ञानिक अनुसन्धानसम्बन्धी कार्य गर्ने एयरफिनिटी संस्थाले उपलब्ध गराएको नयाँ विवरणमा जी–७ का राष्ट्र एवम् युरोपेली युनियनले आगामी जुन, जुलाई र अगस्टमा आफूसँग उपलब्ध हुने २० प्रतिशत मात्र खोप उपलब्ध गराए १५ करोड ३० लाख डोज कोभाक्समा प्राप्त हुने उल्लेख छ । महानिर्देशक फोरले विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई खोप लगाउने लक्ष पूरा गरेरै पनि कोभाक्समा ठूलो परिमाणमा खोप उपलब्ध हुन सक्ने बताइन् । ‘कतिपय जी–७ का सदस्य मुलुकसँग अन्यको तुलनामा बढी नै आपूर्ति हुँदैछ भने केहीले देशभित्र थप खोप लगाउने अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा पनि बढी भएको खोप कमजोर राष्ट्रलाई उपलब्ध गराउन सकिन्छ’, उनले भनिन् । उनले अतिरिक्त खोप तत्कालै उपलब्ध गराउनु न्यूनतम, अत्यावश्यक र आपतकालीन उपाय हो, र यो तत्कालै जरुरी भइसकेको छ भनेकी छन् । भारतमा कोरोनाभाइरस महामारी तीव्रगतिमा फैलिएका कारण पनि कोभाक्समा उपलब्ध हुने खोपमा व्यापक कमी आएको छ । भारतको सेरम इन्स्टिच्यूट कोभाक्सका लागि खोप उपलब्ध गराउने प्रमुख खोप उत्पादक कम्पनी हो । भारतमै खोपको माग अत्यधिक रहेका कारण मे महिनाको अन्त्यसम्ममा कोभाक्समा उपलब्ध हुनुपर्ने १४ करोड डोज खोप प्राप्त हुने सम्भावना देखिएको छैन जसका कारण न्युन एवम् मध्यमआय भएका मुलुकलाई कोभाक्समार्फत खोप उपलब्ध गराउने योजनामा धक्का लाग्ने निश्चित छ । यतिमात्र होइन, आगामी जुन महिनामा थप पाँच करोड डोज पनि उपलब्ध हुने सम्भावना देखिन्न, महानिर्देशक फोरले भनिन् । कोरोनाभाइरस महामारीबाट उम्किने सबैभन्दा प्रभावशाली उपाय भनेकै खोपको विश्वभर समतामूलक वितरण र उपचार नै हो । कोभाक्सको प्रमुख साझेदार संस्थाका रुपमा युनिसेफ पनि यस अभियानमा सक्रियतापूर्वक लागेको छ, उनले भनिन् ।–सिन्ह्वा