एनएसएलको नयाँ ट्रफी सार्वजनिक

शुक्रबार, पुस १३, २०८०

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को नयाँ ट्रफी सार्वजनिक गरिएको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीच शनिबार हुने दोस्रो संस्करणको फाइनलको अघिल्लो दिन दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको हो । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले ट्रफी अनावरणका अभिनेता दयाहाङ राईसँगै भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ भुटियालाई निमन्त्रणा दिएको थियो । राई र भुटियाले संयुक्त रुपमा ट्रफी अनावरण गरेका थिए ।
एनएसएलको लोगोलाई ट्रफीको रुपमा तयार पारिएको थियो । पहिलो संस्करणमा अर्कै ट्रफी थियो । २६ वर्षपछि नेपाल आउन पाउँदा खुसी लागेको जनाउँदै भुटियाले एनएसएलले नेपाली फुटबल विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे ।
अनावरणमा राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, कार्यक्रममा एनएसएमकी अध्यक्ष आश्रयता कार्की चौधरी र एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीको पनि उपस्थिति थियो ।
लिग चरणमा तालिकाको दोस्रो स्थानमा रहेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो र धनगढी ४–३ ले विजयी भएको थियो ।
पोखराले ललितपुर एफसीसँग फाइनलमा पुग्ने अर्को मौका पाएको थियो तर सो दोस्रो क्वालिफायरमा १० जनामा सिमित भएको ललितपुर अतिरिक्त समयमा २–१ ले विजयी भयो । ललितपुरले यसअघि काठमाडौंलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो । धनगढी र ललितपुरबीचको फाइनल खेल साँझ ५ः३० बजे सुरु हुने छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार