बाइडेन–ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’

कोरियाली पप ब्यान्ड बीटीएस ‘इन्टरटेनर अफ् दी यिअर’
शनिबार, मंसिर २७, २०७७

न्यूयोर्क । टाइम म्यागजिनले जो बाइडन र कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति (पर्सन अफ् दी यिअर) घोषणा गरेको छ । बाइडेन र ह्यारिसको टिमले गत नोभेम्बर ३ मा भएको चुनावमा जित हात पार्दै इतिहास रचेका थिए । बाइडेन इतिहासमै सबैभन्दा बढी मत पाउने अमेरिकी राष्ट्रपति मात्रै बनेनन्, उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालका लागि निर्वाचित नहुने राष्ट्रपतिहरुको सानो सूचीमा पनि समेटिदिए । त्यस्तै कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा मात्र निर्वाचित भइनन्, उनी पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपति पनि बन्न सफल भइन् ।
बाइडेन र ह्यारिसलाई वर्ष व्यक्ति छनोट गरिएको उल्लेख गर्दै विश्वकै प्रतिष्ठित म्यागजिन टाइमका प्रधान सम्पादक एडर्वड फेल्सन्थलले लेखेका छन्, ‘अमेरिकी कथा बदलेका कारण, विभाजनको उग्रताभन्दा सहानुभूतिको शक्ति बलिायो हुन्छ भन्ने कुरा देखाएका कारण र एक बिरामी विश्वको उपचारका लागि आशाको किरण देखाएकाले जो बाइडेन र कमला ह्यारिसलाई ‘टाइम पर्सन अफ दी यिअर’ घोषित गरिएको छ ।’
साथै प्रधान सम्पादक फेल्सन्थलले सन् २०२० ले नृशंस रंगभेद, असमानता र विध्वंशकारी डढेलोले आक्रान्त भएको बताएका छन् । साथै यस वर्ष अमेरिकी प्रजातन्त्र पनि खतरामा रहेको उल्लेख गर्दै उनले मतगणनालाई लिएर भएका विवाद, मास्क लगाउने–नलगाउने विषयमा भएका विवादले सामान्य तथ्यमा पनि अमेरिकी नागरिक कति विभाजित भएका छन् भन्ने देखाएको बताएका छन् ।
त्यस्तै जूमका प्रमुख कार्यकारी अधिकृत एरिक युआनलाई वर्षको व्यवसायी घोषणा गरिएको छ । कोरोना महामारी कारण निम्तिएको स्वास्थ्य संकटका बाबजुद भिडियो च्याट सेवा जूमले मानिसहरुलाई घरबाट काम गर्ने र सिक्ने वातावरण सिर्जना गरेको टाइमले उल्लेख गरेको छ ।
त्यस्तै टाइमले ‘गार्जियन्स अफ् द यिअर’ (वर्षका अभिभावक) का रुपमा अभियन्ता आसा ट्राओए, पोर्स बेनेट बे र वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीलाई चयन गरेको छ । टाइम म्यागजिनले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । सुरुमा ‘म्यान अफ दी यिअर’ का रुपमा अवार्ड सुरु भए पनि पछि त्यसलाई ‘पर्सन अफ् दी यिअर’ का रुपमा परिवर्तन गरिएको थियो ।
टाइमले प्रायः वर्षभर चर्चामा रहेका र सकारात्मक प्रभाव पारेका व्यक्तिलाई वर्ष व्यक्तिका रुपमा चयन गर्छ । सन् १९३८ मा एडोल्फ हिटलरलाई टाइमले वर्ष व्यक्तिका रुपमा चयन गरेको थियो । त्यस्तै गर्त वर्ष मात्रै पर्यावरण अभियन्ता ग्रेटा थन्बर्गलाई टाइमले वर्ष व्यक्तिका रुपमा चयन गरेको थियो । उनी १६ वर्षकै उमेरमा टाइमको वर्ष व्यक्ति भएकी हुन् । १६ वर्षीया किशोरीले विश्वका प्रमुख नेताहरुलाई अभियानमार्फत पर्यावरण संरक्षण गर्न दबाब दिँदै आएकी छिन् । त्यस्तै टाइमले एनबीए स्टार लेब्रोन जेम्सलाई ‘एथ्लिट अफ दी यिअर’ र कोरियाली पप संगीत समूह ‘बीटीएस’ लाई ‘इन्टरटेनर अफ् दी यिअर’ घोषणा गरेको छ । टाइमले गत वर्ष ‘वर्षका व्यवसायी’ सहित चार विधामा अवार्ड थपेको थियो ।–एजेन्सी
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार