साढे दुई अर्ब लगानीमा विशिष्टिकृत अस्पताल स्थापना गरिने

बुधबार, पुस ४, २०८०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरनजिक सुविधासम्पन्न विशिष्टिकृत अस्पताल सञ्चालनमा आउने भएको छ । उद्योग, वाणिज्य तथा निर्माणको क्षेत्रमा काम गर्दै आएको शिवम् अर्गनाइजेशनले स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।

विराटनगर महानगरपालिकासँग जोडिएको मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बरं १ मा स्थापना हुने ३०० शैया क्षमताको अस्पताल निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको अस्पतालको लागत करिब २ सय ५० करोड रहने अनुमान लगानीकर्ताको छ ।

अस्पताल सञ्चालक अध्यक्षमा राजेन्द्र राउत तथा सदस्यमा प्रतीक राउत र प्रत्यूष राउत छन् ।

अध्यक्ष राउतका अनुसार हाललाई १०० शैंयाको ‘मल्टि स्पेसियालिटी अस्पताल’ का रुपमा सञ्चालन गरिने छ । सञ्चालन सुरु भएपछि सेवा, सुविधा र पूर्वाधारहरु थप्दै क्र्रमशः ३०० शैयासम्म विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।

नेपालबाट वर्सेनि हजारौंको संख्यामा नेपालीहरु भारतलगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्था छ’ राउतले भने, ‘कोशी प्रदेशबाट पनि उल्लेख्य संख्यामा विदेशमा उपचारका लागि जानेको संख्या निकै छ । त्यसैले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल स्थापना गर्न लागेका हौं ।’

अर्गनाइजेसनका सदस्य प्रतीक राउतले सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माण सुरु गर्न लागिएको अस्पताललाई ‘आरआर इन्टरनेसनल हस्पिटल’ नामकरण गरिएको छ ।

उनका अनुसार अस्पतालबाट जटिल समस्या भएको अवस्थामा स्वास्थ्य सेवाका निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रुपमा विकास गरी बिस्तारै ‘सुपर स्पेसियालिटी’ स्वास्थ्य सेवा दिने केन्द्रका रुपमा विकसित गरिने जनाइएको छ ।

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा र क्याथ ल्याब तथा कार्डियाक आकस्मिक सेवा पनि प्रदान गर्ने जनाइएको छ ।

यसैगरी, अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मूत्ररोग, स्त्रीरोग तथा प्रसुति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको अर्गनाइजेसनले जनाएको छ ।

सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने प्रतिबद्धता अध्यक्ष राउतले जनाएका छन् । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएको भन्दै उनले रोग पत्ता लगाउने ‘डाइग्नोस्टिक डिपार्टमेन्ट’ लाई अन्तरराष्ट्रिय स्तरको वनाइने उल्लेख गरे ।

अस्पतालका सञ्चालक अध्यक्ष राउत लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत हुन् ।

अलग किसिमको पारिवारिक पृष्ठभूमि र उद्योग व्यवसायको विरासत बिना यस क्षेत्रमा प्रवेश गरेका राउतले प्रारम्भिक रुपमा गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका थिए ।

हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यावसायी राउतका विभिन्न उत्पादन मुलक उद्योग तथा व्यवसाय सञ्चालित छन् ।

जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोवार सञ्चालनमा रहेका छन् भने काठमाडौंमा अत्याधुनिक पांचतारे होटल केही महिना भित्रै सञ्चालनमा आउने जनाइएको छ ।

यसैगरी, विराटनगरमा हाउजिङ कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, प्यारामेडिकल, नर्सिङ कलेज पनि स्थापना गर्दै लैजाने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार