एमालेको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

कार्यदललाई तीन दिन भित्र विवाद मिलाउने खाका बनाउने जिम्मा 
आइतबार, जेठ २, २०७८

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा पार्टी भित्रको देखा परेको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।  कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् भने ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् । ‘कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यादलले नै खाका तयार गर्नेछ’ नेता नेपालले भने ।
वार्तास्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । एमाले भित्र बढेको विवाद मिलाउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केही दिन यता निरन्तर वार्ताहरु भइरहेका छन् । आइतबार अपराह्न पनि विवाद मिलाउनकै लागि दुई शीर्ष नेता प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्तामा बसेका थिए । 
प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । 
यसअघि शुक्रबार साँझ सिंहदरबारमा एमालेका दुई पक्षबीच भएको बैठकले कार्यदलको नाम टुंग्याउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई जिम्मा दिएको थियो । त्यसै दिनको वार्तामा पार्टीभित्र देखापरेका समस्याका सन्दर्भमा ०७५ जेठ २ मा फर्केर सामाधान खोज्ने सहमति भएको थियो ।  वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल थिए । त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए । वार्तामा पूर्वमाओवादी समूहका थापासमेत सहभागी भएपछि नेपाल पक्षका नेताहरूले ओलीमाथि आशंका व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार