काठमाडौंमा आजदेखि 'भेरोसेल’ को दोस्रो मात्रा लगाउन सुरु

११ वटै नगरपालिकाका केन्द्रबाट खोप लगाइन सकिने
आइतबार, जेठ २, २०७८

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ को खोपको दोस्रो मात्रा आज देखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभएको छ । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो ।  काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई÷दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्खरापुर र दक्षिणकालीमा एक÷एक खोप केन्द्र रहेका छन्।  कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले यही जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।  यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ ।  चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

दोस्रो चरणको कोरोनाबाट युवा बढी सङ्क्रमित
दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ । सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्मको सङ्क्रमित संख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यो उमेर समूमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईंले बताए । एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क्रमति रहेका छन् । त्यसैगरी ६१ देखि७० वर्षका ज्येष्ठ नागरिक छ दशमलव चार प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ । त्यसैगरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह तीन दशमलव एक प्रतिशत सङ्क्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह एक प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत सङ्क्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले बताए । त्यसैगरी कोरोना सङ्क्रमित १० वर्षमुनिका बालबालिकाको संख्या तीन प्रतिशत रहेको उहाँले बताउनुभयो । एघार देखि २० वर्ष उमेर समूहका पाँच दशमलव छ प्रतिशत सङ्क्रमित पाइएको छ । अहिलेसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या दुई हजारभन्दा बढी रहेको छ भने मृतकको संख्या ४० पुगेको छ ।  जिल्लामा सङ्क्रमणको दर दैनिकरूपमा बढ्दै गएका कारणले यसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नका लागि सबै जिल्लावासीमा स्वास्थ्य कार्यालय सुनसरीले आग्रहसमेत गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार