प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली–नेपाल एक्ला एक्लै वार्ता 

आइतबार, जेठ २, २०७८

काठमाडौं । एमाले भित्रको बढेको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निरन्तर वार्ताहरु भइरहेका छन् । आइतबार अपराह्न पनि विवाद मिलाउनकै लागि दुई शीर्ष नेता प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्तामा बसेका छन् । 
प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता भएको हो । यो वार्ताले एमाले भित्रको विवाद मिलाउनका लागि ठोस निष्कर्श निकाल्ने विश्वास गरिएको छ । कार्यदल सदस्य बनाएर अघि बढ्ने पनि दुई नेताले तयारी गरेको बताइएको छ । ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । 
यसअघि शुक्रबार साँझ सिंहदरबारमा एमालेका दुई पक्षबीच भएको बैठकले कार्यदलको नाम टुंग्याउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई जिम्मा दिएको थियो । त्यसै दिनको वार्तामा पार्टीभित्र देखापरेका समस्याका सन्दर्भमा ०७५ जेठ २ मा फर्केर सामाधान खोज्ने सहमति भएको नेताहरूले बताएका थिए । वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल थिए । त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए । त्यस दिनको वार्तामा पूर्वमाओवादी समूहका थापासमेत सहभागी भएपछि नेपाल पक्षका नेताहरूले ओलीमाथि आशंका व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार