सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । शनिवार नेपालमा थप ८,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा १८७ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शनिवार पनि काठमाडौंमा उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। शनिवार काठमाडौंमा २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्रमित थपिएका छन्।
केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ। बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो। विगत २४ घण्टाको अवधिमा ५,४५५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि एक लाख नौ हजार ७४० जनामा सक्रिय सङ्क्रमण छ। अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४,८५६ जनाको मृत्यु हुँदा उपत्यकामा १,६१५ जनाले ज्यान गुमाएका छन्। अहिले विभिन्न स्थानमा ७,९६९ जना बिरामी संस्थागत आइसोलशनमा छन्। तीमध्ये १,३३१ जना बिरामी आईसीयूमा र ३७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
नेपालमा शय्या र आईसीयू कति ? स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८ हजार ९१७ छ। देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ। कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।