माधव–झलनाथ समूहका माग सम्बोधन गर्न ओली तयार 

शनिबार, जेठ १, २०७८

काठमाडौं । झण्डै झण्डै विभाजनको चरणमा पुगेको एमाले संस्थापन पक्ष केही लचक भएपछि सहमति बन्ने चरणमा आइपुगेको छ । यो अवस्थामा ल्याएन संस्थापन पक्ष तथा माधव समूहका दोस्रो पुस्ताका नेताहरुले ठूलो मिहिनेत गर्नु प¥यो । दुई समूहका लगातारका छलफलले दुई शीर्ष नेता अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अल्पमत समूहका नेता माधवकुमार नेपालबीच प्रत्यक्ष बार्तामा बस्नेसम्मको बातावरण बनाएको थियो । मिडिया व्यवसायी रामेश्वर थापाले दुई नेताको भेटका लागि चाँजो पाँचो मिलाएका थिए । यसअघि पनि थापाले एमाले भित्रको विवाद मिलाउन प्रयास गरिरहेका थिए । शुक्रबारको दुई पक्षिय वार्तामा एमाले अध्यक्ष ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको छ । सर्वाेच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने माग राख्दै आएका छन् । 
एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत पार्टी कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हो । तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने अडानमा थिए । 
अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफलमा जेठ २ आसपासबाट पार्टीलाई अघि बढाउने सहमति भएपछि नेपाल पक्षका सांसदले दिने भनेको राजीनामा रोकिएको थियो । त्यही विषयमा थप छलफल गर्न दोस्रो पुस्ताका नेताहरूसमेतको बैठक सिंहदरबारमा करिब चार घण्टा बसेको थियो ।

बैठक सकारात्मक रूपमा अघि बढेको र बाँकी विषयमा शनिबार कार्यदल बनाएर छलफल गर्ने सहमति भएको थियो ।  छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।

कार्यदल गठनको तयारी

एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान गरेर अघि बढ्न सहमत भएका थिए । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने बताइएको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत भएपछि कार्यदल गठनको प्रक्रिया अघि बढेको हो । 
विवाद कसरी मिलाउने भन्ने बारे नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज बस्दै छ । भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले विवाद मिलाउने विषयमा अआफ्ना धारणा राख्ने छन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार