छठ पर्वले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र आपसि सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल 

आइतबार, मंसिर ३, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् ।  उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठले प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन् ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनले शुभकामना सन्देशमा भनेका छन् । 
यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना दिएका छन् । 
उनले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने उल्लेख गरेका छन् । 
सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना दिएका छन् ।
त्यस्तै राजनीतिक दलहरुले पनि विज्ञप्तिमार्फत छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । 
सूर्य देवता र छठीमाताको पूजाअर्चना गर्नु छठ पर्वको मुख्य विशेषता हो । यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व मनाइन्छ । 
खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार