आजबाट विधिवत रुपमा छठ सुरु, पहिलो दिन नहाय खाय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्वको आजदेखि विधिवत सुरुवात भएको छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।
चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ । 
श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन् । 
खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन् । खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् । त्यसलाई खरना भनिन्छ ।
तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । 
आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार