न्हू दँ या भिंतुना

नेपाल संवतको स्वागतमा ललितपुर-२३ मा शुभकामना आदानप्रदानसहित सांस्कृतिक र्‍याली

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं । मंगलबारबाट सुरु भएको नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४४ लाई उपत्यकाका नेवार समुदायले सांस्कृति कार्यक्रमसहित भव्य स्वागत गरेका छन् । यसै अवसरमा ललितपुर महानगरपालिका २३ नं वडास्थित सना तः गुठीले शुभकामना आदान प्रदानसहित सांस्कृतिक र्‍याली निकालेर न्हू दँ या (नयाँ वर्ष) को स्वागत गरेको छ । 
नयाँ वर्ष ११४४ को उपलक्ष्यमा गुठीले ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा मंगलबार गुठी भवन धापाखेलमा गुठीका गुरूहरू तथा नेवार समुदायको बाक्लो उपस्थितिमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक र्‍याली आयोजना गरेको हो  ।

भिंतुना सांस्कृति र्‍याली निकाल्नु अघि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले लामो प्रयासपछि सरकारले भर्खरै मात्र नेपाल सम्वतलाई सरकारी कामकाजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको स्मरण गराउनु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा ललितपुर महानगरपालिका २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले नेपाल सम्वत्को नयाँ वर्षमा वडावासीलाई शुभकामना दिँदै वडाले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क औषधि वितरण सुरु गरेको बताउनु भयो । 

370067975_362439056312919_3762177782682888366_n1700094184.jpg
‘यो वर्ष हामीले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सुगर–प्रेसरको औषधि निःशुल्क दिएका छौं’, वडा अध्यक्ष महर्जनले भन्नुभयो, ‘अर्काे आर्थिक वर्षदेखि ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्नेछौं ।’
गुठीका अध्यक्ष रत्न महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा सना तः गुठीका सचिव नविन महर्जनले नेपाल सम्वत्को नयाँ वर्षका उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै कार्यक्रम उपस्थित प्रमुख अतिथि उपमेयर, वडाअध्यक्षसहितका महानुभावहरूको स्वागत गर्नु भएको थियो । 

कार्यक्रमकामा महानगर उपप्रमुख मञ्जली तथा वडा अध्यक्ष जीवनलाई मायाको चिनो प्रदान गरिएको थियो । 

शुभकामना आदान प्रदानपछि गुठी भवनबाट टेवा मुल सडक निस्कँदै सांस्कृतिक र्‍यालीले वडाका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो ।
मंगलबार दिनभरी नै काठमाडौं उपत्यकामा नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार