एमडीएमएस प्रणालीमार्फत आजदेखि लागू हुँदै, करिब एक हजार फोन ब्लक हुने

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरु ब्लक हुनेछन् । 
यो प्रणाली कार्यान्वयन आएपछि तत्काल करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने भएका छन् । प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ती फोनहरू ब्लक गर्न लागेको हो । भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि निःशुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज ८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने बताए । उनले भने, “आजदेखि नियमित रुपमा एमडीएमएसमा दर्ता नभएका फोनहरुमा दूरसञ्चार सेवा अवरुद्ध गर्छौं । हामीले टेक्नोलोजी र मूल्यअनुसार हेरिरहेका छौँ । हाई रेन्जका ८०० भन्दा बढी फोन ब्लक हुन्छन् ।”
उनले त्यसपछि दर्ता नभएका अन्य फोनहरु दैनिक रुपमा प्रतिबन्ध गरिने बताए । नेटवर्क अपरेटर र पूरै नेटवर्कको सिस्टममै काम गर्नुपर्ने भएका कारण ‘पिक आवर’बाहेकका समयमा ती फोन प्रतिबन्ध गरिने उनले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार