तत्काललाई ट¥यो एमालेको विभाजन 

ओली र नेपाल सहमति नजिक
बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं । लगभग विभाजनको संघारमा पुगेको नेकपा एमालेको विवाद तत्कालका लागि टरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेपछि विभाजनको संघारबाट एमाले जोगिएको छ । दुई नेताबीच सहमति नजिक पुगेका कारण माधवकुमार नेपाल पक्षका सांसदले बिहीबार दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । यस पटक पनि दुई नेतालाई मिलाउन मिडिया व्यवसायी  रामेश्वर थापाले अग्रसरता लिए । दुई नेताबीच चपलीस्थित व्यवसायी थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो । छलफलमा एमाले बरिष्ठ नेता नेपालले अघि सार्दै आएको ६ बुँदे प्रस्तावमाथि छलफल भएको बताइएको छ । अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टरेको छ ।’
माधवकुमार नेपाल समूहले सर्वाेच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ । तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो । बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । माधव नेपाल समूहले गत सोमबार प्रधानमन्त्रीको विश्वासको मत लिने दिन अनुपस्थित भएर उनलाई अहयोग गरेका थिए । ह्वीप उल्लंघनमा कारवाही गरी सांसद् तथा पार्टीबाट निस्कासन गर्ने रणनीति बनाएको एमालेको संस्थापन पक्ष माधव नेपाल समूहले राजीनामा दिँदा पुनः सत्तारोहणमा नपुग्ने देखेपछि उनीहरुलाई रोक्न कारवाही फुकुवा गरी एकताको पहल गरेको हो । माधव नेपाल समूहले राजीनामा दिँदा संसद्को कुल संख्या घटन् गई विपक्षी गठनलाई सरकार निर्माणका लागि आवश्यक सिट पुग्ने अवस्था थियो । तर अहिले अवस्था परिवर्तन भएका कारण ओलीलाई ठूलो दलको हैसियतमा पुनः बालुवाटार प्रवेशको ढोका खुल्ने देखिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार