एमालेको विभाजन रोक्न शीर्ष तह पनि शक्रिय 

ओली–नेपालबीच भेटले सुल्झिएला विवाद 
बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं । नेकपा एमाले भित्रको विवाद सुल्झाउन शीर्ष नेतृत्व तहले पनि सक्रियता देखाएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच विवाद सुल्झाउन बिहीबार अपराह्न भेटवार्ता भएको हो । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए । बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।

ओलीलाई सम्पूर्ण अधिकार 
दुई नेताको भेटअघि पार्टी स्थायी समितिको बैठक बसेर पार्टीलाई एकतावद्ध गर्ने सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो । एमालेले प्रधानमन्त्री ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका  सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । 
उनका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।  उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको  समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताएका छन् । 
पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र  असन्तुष्ट पक्षसँंग वार्ता गरिने जानकारी उनले दिए ।  उनले भने, ‘आफ्नै नेतृत्वको सरकार ढालेर विपक्षको सरकार बनाउनका निम्ति कारक नबन्न सबैलाई आह्वान गरिएको छ ।’  यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड–१९ को सङ्क्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।  प्रवक्ता ज्ञवालीले चौलागाईंको निधनबाट पार्टीले एक असल नेता र दोलखालीले अब्बल जनप्रतिनिधि गुमाएको बताए ।   बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै चौलागाईंको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने निर्णय गरेको छ । यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीको पछिल्लो जटिला अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमका सम्बन्धमा जानकारी दिएका थिए ।  बैठकले अक्सिजनको पर्याप्तता, प्रभावकारिता र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिको प्रबन्ध, अस्पतालको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न र मित्र राष्ट्रबाट आवश्यक सहायता जुटाउनका लागि थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको उनले जानकारी दिए । 
बैठकले कोभिड महामारीको अझ तयारी गर्न र अक्सिजनलगायत आवश्यक सामग्री आपूर्ति गर्नका लागि राज्यका सबै संयन्त्र प्रयोग गर्न सरकारलाई सुझाव दिएको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार