एमालेको संस्थापन पक्ष पछि हट्यो 

चार नेतामाथिको कारबाही फिर्ता 
बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं । करिब करिब विभाजनको चरणमा पुगेको नेकपा एमाले चार नेतामाथिको कारवाही फुकुवा निर्णय गरेसँगै विभाजन टार्ने प्रयासमा लागेको छ । नेकपा एमालेको संस्थापन पक्षले कारवाही गरेपछि रुष्ट अल्पमत समूहलाई फेरि पार्टी भित्र प्रवेश गराउने गरी कारवाही फुुकुवा गरेपछि एमाले भित्र तत्कालका लागि विभाजन टरेको विश्लेषण गरिएको छ ।  नेपालको संस्थापन पक्षले बिहीबार यसअघि कारवाही गरेका चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको हो । नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्मा लिएको विश्वासको मत बहिष्कार गरेका थिए । प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज (बिहीबार) राति ९ बजेसम्मको समय दिएकी थिइन् । 
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसके संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन् ।  ओलीलाई त्यसरी प्रधानमन्त्री हुन नदिन नेपाल पक्षका सांसदहरूले  सामूहिक राजीनामा दिने रणनीति बनाइरहेका थिए । नेपाल समूहको यो रणनीति विफल पार्न ओलीले कारवाही फुकुवा गरेको विश्लेषण पनि गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार