इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन

बुधबार, वैशाख २९, २०७८

विवेक विवश रेग्मी 
इटहरी । इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार भएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार भएको हो । 
उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिएको हो । 

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयार गरिएको बताए । ‘यहाँ गरीब, विपन्न तथा आर्थिक स्तर कमजोर भएका नागरिकहरुलाई राखिनेछ र निःशुल्क खानासहित उपचार गरिनेछ,’ पौडेलले राजधानीसँग भने, ‘प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधा पनि छ, आज सिडिओ साबहरुले अनुगमन गरेर आइसोलेसन सञ्चालनका लागि स्वीकृति पनि दिनुभएको छ ।’ 
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, प्रहरी प्रमुख एसपी कमल थापा, सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलसहितको टोलीले अनुगमन समेत गरेको छ । अनुगमनपछि प्रजिअ ढकालले पूर्वमै पहिलोपटक यस्ता संस्थाबाट आइसोलेसन तयार हुनु सकारात्मक पक्ष रहेकाले सञ्चालनका लागि स्वीकृति दिएका थिए । 
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लामा रहेर अग्रभागमा खटिने पत्रकारहरुमा पनि कोरोनाको जोखिम रहेका कारण उवासंघ सँगको सहकार्यमा आइसोलेसन निर्माणका लागि सहकार्य गरेको बताए । उनले भने, ‘अग्रभागमा खटिने पत्रकारहरुमा जोखिम भएकाले संक्रमण भएका पत्रकारहरु यहाँ आएर बस्न सक्नेछन्, त्यसका लागि प्रेस युनियनले समन्वय गर्नेछ ।’ गतवर्ष जिल्लाका पत्रकारहरुमा कोरोना बीमा गरेको स्मरण गर्दै अधिकारीले भने, ‘यो आइसोलेसन पत्रकारहरुका लागि पनि लक्षित गरेर निर्माण गरिएको हो ।’ 
उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा कमिटि समेत बनिसकेकाले केही दिनभित्रै आइसोलेसन सञ्चालनमा आउनेछ । उक्त कमिटिमा वस्तुगत संस्थाका मानिसहरु पनि रहेका छन् । पूर्वमै पहिलोपटक निःशुल्क रुपमा उपचार गर्ने उदेश्यले निर्माण भएको आइसोलेसन गरीब, विपन्न परिवारका लागि राहत हुने उवासंघले जनाएको छ । 
यसअघि इटहरी उपमहानगरपालिकाले वडा नं. ९ मा रहेको रंगशालामा ५० बेडको आइसोलेसन तयार गरेको जनाएको छ । तर, जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा व्यवस्था नहुँदा आइसोलेसन हालसम्म सञ्चालनमा आउन सकेको छैन । इटहरी अस्पतालका अुनसार नगरमा हालसम्म ४५२ जना कोरोना संक्रमित पुगेका छन् भने छ जनाको निधन भइसकेको छ । त्यस्तै, इटहरीमा एक सय जनाले कोरोना जितेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार