कोरोना सङ्क्रमण निको हुने दर घट्दो, मृतक संख्या बढ्दो 

बुधबार, वैशाख २९, २०७८

काठमाडौं । १५ दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार उक्त दिन पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्यांकको अर्थ हो परीक्षण गरिएका प्रत्येक दुईमध्ये एक जनालाई कोरोनाभाइरस सङ्क्रमण देखिनु । कोरोनाभाइरस महामारी शुरू भएयताकै सबैभन्दा धेरै १३९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सोमवार पुष्टि भयो । तर मङ्गलवार त्यसभन्दा पनि धेरै अर्थात् हालसम्मकै सर्वाधिक २२५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ । पछिल्ला केही दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको औसत संख्या आठ हजारभन्दा बढी हुने गरेको देखिएको छ ।

कस्तो छ सङ्क्रमण दर ?
स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्कलाई हेर्दा परीक्षण गराएका मानिसहरूमा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ । विगत १५ दिनमा एक लाख २३३ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ । यो अवधिमा कोभिड–१९ सँग सम्बन्धित कारणले थप ६८३ जनाको ज्यान गएको छ । १५ दिनयता दैनिक औसत मृतकको सख्ंया ४५ जना हुन्छ । वैशाख १३ गते कुल सङ्क्रमितको संख्या ३,०३,५६१ थियो भने वैशाख २७ गते ४,०३,७९४ पुगेको छ । वैशाख १३ गते ३,५५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र सात जनाको मृत्यु भएको थियो ।  त्यो दिन सङ्क्रमण दर १२.५ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । वैशाख १३ गते कुल मृतक संख्या ३,१७६ थियो भने निको हुने दर ९१.५ प्रतिशत रहेको थियो । त्यसको ठ्याक्कै १५औँ दिन अर्थात् वैशाख २७ गतेको तथ्याङ्क हेर्दा ९,२७१ जनामा सङ्क्रमण देखियो भने २४ घण्टाको अवधिमा १३९ जनाको मृत्यु भएको पाइयो । त्यो मितिमा कुल मृतक संख्या ३,८५९ थियो भने निको हुने दर ७६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

बढ्दो सङ्क्रमणबारे विज्ञ के भन्छन् ?
पछिल्लो समय नेपालमा कोरोनाभाइरस सङ्क्रमण व्यापक रूपमा फैलिरहेको तथ्याङ्कबाट देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन् । ‘घरमा बसेका एक व्यक्तिबाट अर्काे व्यक्तिमा सङ्क्रमण भइरहेको छ जसले गर्दा सङ्क्रमितहरू बढिरहेका छन्’ उनले भने । सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यातका अनुसार नेपालमा पछिल्लो समय देखिएका कोरोनाभाइरसको भेरिअन्टका कारण पनि सङ्क्रमितको संख्या बढेको देखिन्छ । सरकारी अधिकारीहरूका अनुसार नेपालमा कोरोनाभाइरसका यूके भेरिअन्ट र डबल म्युटन्ट देखिएको पुष्टि भइसकेको छ । ‘पछिल्लो समय देखिएका भाइरसले नित्याउने दर एकदमै बढी छ । त्यो हामीले प्रस्ट रूपमा भन्न सक्छौं’, प्राध्यापक बस्न्यात थप्छन् । त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी पनि सहमत छन् । ‘त्योसँगै राजनीतिक दलकै नेताहरू विभिन्न सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रमलाई बढावा दिँदा र मानिसहरूले पनि सामाजिक जमघटहरू गरेका कारण सङ्क्रमणमा निकै वृद्धि देखिन पुगेको हो’, उनले भने ।

बढ्दो मृत्युको कारण के हुनसक्छ ?
विगत १५ दिनकै कुरा गर्ने हो भने सङ्क्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ।
पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृतकको संख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बस्न्यात बताउँछन्, ‘तर भाइरस लिथल भएकोले मात्रै नेपालमा मृतक संख्या बढेको भन्न सकिन्न ।’ ‘बिरामीले अक्सिजन नपाएर हुनसक्छ, निको हुन्छ भनेर रोगले च्यापिसकेपछि अन्तिम क्षणमा अस्पताल पुग्ने भएर हुनसक्छ । यस्ता कन्फाउन्डिङ फ्याक्टरहरूले पनि भूमिका खेलेका हुन्छन’, उनले भने । डा.अनुप बास्तोला पनि कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृत्युसम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँछन् । जनस्वास्थ्यविद् डा.मरासिनी पछिल्लो समय मृतकको संख्यामा व्यापक वृद्धि हुनुको अन्य कारण पनि खोज्नुपर्ने सुझाउँछन् । ‘यो डेङ्गी लाग्ने महिना हो, स्क्रब टाइफस लाग्ने महिना हो, कालाजार र जापनिज इन्सेफ्लाइटिस फैलिने महिना हो । डबल इन्फेक्सन भयो कि भन्नेतर्फ ध्यान दिएकै देखिँदैन’, उनले भने, ‘कोरोनाभाइरससँगै ती पनि भए भने त्यसले मृत्युदर उच्च बनाउँछ ।–बीबीसी 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार