भारत–क्यानाडा तनाव : भारतद्वारा क्यानाडाका कूटनीतिज्ञ देश निकाला, देश छाड्न पाँच दिनको म्याद

मंगलबार, असोज २, २०८०

काठमाडौं । क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ ।’ सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।

यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानाडाली उच्चायुक्तलाई बोलाएको थियो । केही समयअघि क्यानडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँ दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए ।

केही मिनेटको भेटपछि क्यामरुन म्याकी परराष्ट्र मन्त्रालयको कार्यालयबाट बाहिर निस्किए । यो अवधिमा उनले मिडियासँग खासै कुरा गरेनन् ।

कुरा के हो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । भारतीय विदेश मन्त्रालयले क्यानडाको यो आरोपलाई पूर्णतया अस्वीकार गर्दै यसलाई बाइत कुरा भएको बताएको छ ।

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । ट्रुडोले सोमबार क्यानडाको संसद्मा भने, ‘क्यानाडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने पक्का भएको छ ।’

क्यानडाका प्रधानमन्त्रीले जी–२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग यो मुद्दा उठाएको बताए । ट्रुडोले क्यानडाको संसद्मा भने, “हाम्रो देशको भूमिमा क्यानाडाली नागरिकको हत्याको पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो ।’

ट्रुडोले थप भने, ‘यो लोकतान्त्रिक, स्वतन्त्र र खुला समाजहरू सञ्चालन गर्ने आधारभूत नियमहरूको विरुद्ध हो ।’ क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई यस प्रकरणको अनुसन्धानका कारण निष्कासन गरिएको बताएकी छन् ।

क्यानडालाई भारतको जवाफ

भारतीय विदेश मन्त्रालयले यस विषयमा विज्ञप्ति जारी गर्दै भनेको छ– ‘हामी क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसद्मा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौं । क्यानाडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारत सरकारको संलग्नताको आरोप बेतुकका छन् । क्यानाडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई पनि यस्तै आरोप लगाएका थिए र पूर्ण रूपमा अस्वीकार गरियो ।’

‘हामी विधिको शासनप्रति दृढ प्रतिबद्धता भएको लोकतान्त्रिक देश हौं । यस्ता आधारहीन आरोपहरूले क्यानाडामा आश्रय लिएका खालिस्तानी आतंकवादी र चरमपन्थीहरूबाट ध्यान हटाउन खोज्छन् र भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई खतरामा पार्ने प्रयास गर्छन्। यस मुद्दामा क्यानाडा सरकारको निष्क्रियता लामो समयदेखि चिन्ताको विषय भएको छ ।’ भारतले भनेको छ ।–बिबिसी/हिन्दी 

https://www.bbc.com/hindi/live/india-66850879

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार