अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते

मंगलबार, वैशाख २८, २०७८

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलगअलग बिस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार भएका यी बिस्फोटमा अरु ३७ जना घाइते भएका छन् ।  अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोटबाट सर्वसाधारण हताहत भएका हुन् ।  आइतबार बेलुकीपख जाबुलको शहर–ए–साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ । यसैगरी, सोमबार बिहान परवान प्रान्तको पुल–ए–मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् । 
परवान अस्पतालका प्रमुख डा कासिम साङ्गिनले घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको जानकारी दिए । उक्त घटनामा महिला र बालबालिका बढी घाइते भएका छन् ।  सरकारी पक्षले उक्त घटना तालिबान विद्रोही समूहले गराएको आरोप लगाए पनि तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।  यसैबीच, काबुलको बालिका अध्ययन गर्ने विद्यालय बाहिर भएको बिस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६३ पुगेको छ । यस घटनामा घाइते भएका अझै १५० जनाभन्दा बढीको काबुलका विभिन्न अस्पतालमा उपचार भइरहेको अफगान सरकारले जनाएको छ ।  बम बिस्फोटमा मारिनेमा अधिकांश बालिका रहेका छन् । गत शनिबार बिस्फोटक पदार्थले भरिएको एउटा सवारी साधनलाई विद्यालयको मुख्य प्रवेशद्वार बाहिर बिस्फोट गराइएको सुरक्षा अधिकारीले बताएका छन् ।  
राष्ट्रपति अश्रफ घानीले उक्त बिस्फोट तालिबान विद्रोहीले गराएको दाबी गर्नु भएको छ । उहाँले तालिबानद्वारा गराइएको यो बिस्फोट मानवता विरुद्धको अपराध हो भनेका छन् ।  तालिबान समूहले उक्त घटनामा आफूहरुको संलग्नता नरहेको बताएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो आबद्ध सैनिक आगामी सेप्टेम्बर ११ भित्रै स्वदेश फर्कने गरी तयारी गरिरहेको अवस्थामा देशका विभिन्न भागमा हिंसात्मक घटना अरु बढ्न थालेको भन्दै अफगानी अधिकारीकर्मीले चिन्ता प्रकट गरेका छन् ।  यसैबीच, नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइले ट्वीट गर्दै स्कुले बालबालिकाको सुरक्षाका लागि सबै एकजुट हुन आह्वान गरेका  छन् । उनले अगाडि भनेका छन्, ‘अफगानिस्तानमा बढ्दो आतङ्कवादी घटनाले शान्ति र लोकतन्त्रमाथि नै चिन्ताको स्थिति सिर्जना भएको छ ।’
इदका अवसरमा तीन दिने युद्धबिराम 
अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेको छ ।  तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धबिराम गरिएको बताए । 
उनले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूलाई कुनै पनि आक्रामक कारबाही स्थगित गर्न निर्देशन पनि दिएका छन् ।  यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ । तालिबान प्रवक्ताले युद्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूलाई अनुरोध गरेका छन् ।  तालिबान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धबिरामको घोषणा गरेको छ ।–एएनआइ/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार