भारतमा कोभिड–१९ को सङ्क्रमण केही मथ्थर 

तीन हजार ७५४ को मृत्यु
मंगलबार, वैशाख २८, २०७८

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा केही कमी आएको छ ।  भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति सङ्क्रमित भएको जनाएको छ । योसहित भारतमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड २६ लाख ६२ हजार पुगेको छ ।  विगत २४ घण्टामा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा योसहित दुई लाख ४६ हजार ११६ जनाको कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गइसकेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् । हालसम्म भारतमा योसहित एक करोड ८६ लाख ७१ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको पाइएको छ ।  यसैबीच, गत जनवरीबाट थालिएको कोभिड–१९ विरुद्धको खोप लगाउने व्यक्तिको सङ्ख्या १७ करोड दुई लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा ३० करोड ३७ लाख नमुना परीक्षण गरिएको छ । 
भारतमा कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, शैया, औषधि र अस्पतालको अभावमा मानिसले सामान्य उपचारसमेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३३ लाख छ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 
विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा पाँच लाख ९५ हजार, ब्राजिलमा चार लाख २२ हजार, भारतमा दुई लाख ४६ हजार, मेक्सिकोमा दुई लाख १८ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २२ हजार, रसियामा एक लाख १३ हजार तथा फ्रान्समा एक लाख छ हजारको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।  पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापकस्तरमा लगाउन थालिएपछि कोभिड–१९ बाट प्रभावितको सङ्ख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।–एएनआई
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार