सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । त्यसलगत्तै सभामुखले अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेका थिए । उक्त प्रयोजनका लागि सदस्यमा डा. डिला संग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम मनोनयन गरिएको छ । यसअघि बैठकमा गणतन्त्र र लोकतन्त्रका लागि जीवन आहुति दिने शहीदका सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । बैठकमा सभामुख सापकोटाले प्रधामन्त्री ओलीले संविधानबमोजिम विश्वासको मत लिन सूचना दिएकाले सो प्रयोजनका लागि १५ मिनेटपछि अर्काे बैठक बस्ने जानकारी गराएका थिए । बैठकमा भाग लिन प्रधानमन्त्री अपराह्न १ः०५ बजे यहाँ आएका थिए । जारी बैठकमा प्रधानमन्त्री शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरिरेहका छन् । प्रस्ताव टेबल गरिएसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्य गरिरहेका छन् । उनले कोरोनाविरुद्धको यो लडाईमा एक जुट हुनुपर्ने अवस्थामा संसद्मा बसेको बताइरहेका छन् । प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन प्रकारका मत जाहेर गर्ने व्यवस्था गरिएको छ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने छ । मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकाहरुलाई मुख्य सभाकक्ष र पोजिटिभ संक्रमणलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ । हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित भएको बताइएको छ । नेपाल समूह अनुपस्थित सत्ताको नेतृत्व गरिरहेको नेकपा९एमाले०भित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद्को यो अधिवेशन राखिएको छ । एमालेको माधवकुमार नेपालले नेतृत्व गरेको समूहले भने अधिवेशनमा उपस्थित नहुने जनाइसकेको छ । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्था अनुसार नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मदआफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन् ।
उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिनेछन् । अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्नेछन् । प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतमा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।
सुरक्षा मापदण्ड कोभिड–१९ संक्रमणलाई हेक्का गर्दै अधिवेशनमा सांसद्का लागि सिट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको छ । बैठक कक्ष प्रवेश गर्नुअघि सांसदका लागि पिसिआर परीक्षण गरिएको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । मास्क र सेनिटाइजरको प्रयोग कडाइका साथ पालन गराइएको छ । कोभिड–१९ संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेका बेला हुन लागेको अधिवेशनबाट नेपालको राजनीति पनि नयाँ चरणमा प्रवेश गर्ने अनुमान गरिएको छ ।