माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो

सोमबार, वैशाख २७, २०७८

काठमाडौं । नेकपा एमाले फुट्ने निश्चित जस्तै भएको छ । एमालेको अल्पमत पक्ष माधवकुमार नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै दिएको समयसीमा भित्र ओलीले ठोस निर्णय नगर्दा एमाले फुटको संघारमा पुगेको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । उक्त समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी थियो । प्रधानमन्त्रीलाई दिएको समयसीमा सकिएपछि यो समूहका नेताहरू यस विषयमा थप छलफलमा जुटेका छन् । ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गते यता भएका सबै निर्णय फिर्ता गर्नुपर्ने सर्त राखेका थिए ।  नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि दुवै पक्षका नेताहरुबीच छलफल तीव्र हुँदै आएको छ । यद्यपि समस्या समाधानको बाटो पहिल्याउन दुवै पक्षले सकेका छैनन् ।  ओलीले सरकार र पार्टीमा एकलौटी गरेको तथा विधिसम्मत ढंगले नचलेको आरोप लगाउँदै माधव–झलनाथ पक्ष उनीविरुद्ध आन्दोलनमै उत्रिएको थियो । ओलीले भने विपक्षी दलहरुसँग गठजोड गरेर माधव–झलनाथ पक्षले पार्टीमा फुट ल्याएको आरोप लगाउँदै आएका छन् ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवारमा भेला भएर आगामी रणनीतिबारे छलफल गरिरहेका छन् ।  नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् । समानुपातिक सांसदले पनि राजीनामा दिएर अलग्यै पार्टी बनाउने विषयमा पनि छलफल भइरहेको छ । आफूहरुले राजीनामा दिएपछि संसदको संख्या घट्ने र त्यो अवस्थामा संसदमा एमाले बाहेक अन्य दलको बहुमत पुग्ने आँकलन नेपाल पक्षको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार