राहुल गान्धीलाई मानहानि मुद्दामा राहत, संसद्‌मा पुनर्बहाली हुन सक्ने

शुक्रबार, साउन १९, २०८०

नयाँदिल्ली । एउटा मानहानिको मुद्दामा भारतको सर्वोच्च अदालतले कंग्रेस नेता राहुल गान्धीलाई शुक्रवार राहत दिएको छ । उनले मोदी थरको अपमान गरेको भन्दै परेको मुद्दामा अदालतले राहुल गान्धीलाई यसअघि दिइएको सजाय स्थगित गरिदिएको छ । गत मार्च महिनामा भएको आदेशका कारण उनको सांसद पद खारेज भएको थियो ।

अहिलेको फैसलाको अर्थ संसद्‌मा उनको पुनर्बहाली हुनसक्छ । उनी आगामी निर्वाचनमा फेरि उम्मेदवार बन्न पाउन सक्छन् । सांसद पद पुनर्बहालीका लागि संसद्‍को कार्यालयले उनीविरुद्ध गरिएको निर्णय उल्ट्याउनुपर्ने छ ।

के भन्यो अदालतले ?

सर्वोच्च अदालतले भनेको छ, ''यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारबिना दुई वर्षको अधिकतम सजाय दिएका छन् ।''

सर्वोच्च अदालतका वरिष्ठ वकिल केसी कौशिकले भने, “अदालतले सजायमाथि रोक लगाएको छ…। सबभन्दा महत्त्वपूर्ण कुरा अदालतले भनेको छ कि यो कुनै एक व्यक्तिको विषय होइन, जसले गान्धीलाई संसद्‌मा पुर्‍याएका छन् उनीहरूको अधिकारको पनि हनन हो ।”

सन् २०१९ मा मोदी थरबारे गान्धीले बोलेको कुरामाथि चलेको मुद्दामा तल्लो अदालतले उनलाई दुई वर्षको सजाय सुनाएको थियो। फैसलाको २४ घण्टापछि उनको लोकसभाको सदस्यता रद्द गरिएको थियो ।

उक्त फैसलाविरुद्ध राहुल गान्धी गुजरातको उच्च अदालत गए पनि तल्लो अदालतको सजाय नै सदर गरिएको थियो ।

सर्वोच्च अदालतले भनेको छ, “भारतीय दन्ड संहिताको धारा ४९९ अनुसार यो अपराधका लागि अधिकतम दुई वर्षको सजाय वा जरिवाना दुवै हुन सक्छ । मानहानीको यो मामिलामा ट्रायल कोर्टले अधिकतम सजाय सुनाउनका लागि वादीको दलिल बाहेक अरू कुनै कारण खुलाएको छैन ।”

ध्यान दिनुपर्ने कुरा के रह्यो भने दुई वर्षको सजायकै कारण जनप्रतिनिध्व अधिनियमको धारा ८(३)को प्रावधान लागु भयो अनि निवेदकको सदस्यता रद्द भयो। सजाय दुई वर्षभन्दा एक दिन मात्र कम भएको भए यो नियम आकर्षित हुने थिएन ।

खासगरि यस्ता मामिला जसमा अपराध अदालतमा सुनुवाइ हुनै पर्ने किसिमको छ जसमा जमानत मिल्न सक्छ र ‘संज्ञेय’ छ भने त्यसमा अधिकतम सजाय दिनुको कारण पनि तल्लो अदालतका न्यायाधीशले खुलाउने अपेक्षा गरिन्छ।

उच्च अदालतले अपिल खारेज गर्नुको कारण खुलाउन थुप्रै पाना खर्च गर्‍यो तर यी पाटाहरूमा उसले ध्यान पुर्‍याएको जस्तो लाग्दैन।

कंग्रेसको प्रतिक्रिया

सर्वोच्च अदालतको फैसलापछि कंग्रेस पार्टीको ट्विटर ह्यान्डलमा राहुल गान्धीको तस्बिरको साथमा लेखिएको छ- "सत्यको सँधै जीत हुन्छ ।"

पार्टी नेता जयराम रमेशले भनेका छन्, "सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको छ। भाजपाको पूरा मशिनरीको निरन्तरको प्रयास रहे पनि राहुल गान्धी हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाइरहे ।"

गौतम बुद्धको एक उक्ति उल्लेख गर्दै प्रियंका गान्धीले ने ट्विटरमा लेखेकी छन्, "तीन चीजलाई कहिल्यै छुपाउन सकिन्न: सूर्य, चंद्रमा और सत्य- गौतम बुद्ध। माननीय उच्चतम न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद। सत्यमेव जयते ।"

न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा र न्यायाधीश संजय कुमारको इजलासले भनेको छ, "राहुल गान्धीको भाषा ठिक थिएन भन्नेमा कुनै शङ्का छैन र सार्वजनिक जीवनमा कुनै व्यक्तिले सार्वजनिक रूपमा केही बोल्नुअघि सावधानी अपनाउनुपर्ने अपेक्षा राखिन्छ।" 

समाचारसंस्था पीटीआईको विवरणअनुसार अदालतले भनेको, "उनको मुद्दा सुनाएको अदालतले अधिकतम सजाय दिनेको कुनै कारण दिएको छैन। यो मुद्दामा अन्तिम फैसला नसुनाउन्जेल सजायको फैसला स्थगित गर्नु आवश्यक छ।"

पूर्णेश मोदीले के भने ?

गुजरातका बीजेपी विधायक पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध मानहानिको मुद्दा हालेका थिए । सर्वोच्च अदालतको निर्णयपछि उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।

 

''आज सर्वोच्च अदालतमा राहुल गान्धीको सजायमाथि रोक लगाइएको छ । हामी अदालतको फैसलाको स्वागत गर्छौँ। आगामी दिनमा सर्वोच्च अदालतमा मुद्दा चल्दा हामी त्यहीँ लड्छौँ," उनले समाचारसंस्था एएनआईलाई भने ।

पूर्णेश मोदीका वकिलले भने, ''अहिले अदालतले जे आदेश दिएको छ त्यसको हामी सम्मान गर्छौँ । सांसद पद बहाल गर्ने काम कानुनअनुसार हुने छ, त्यसमाथि हामी टिप्पणी गर्दैनौँ ।''

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार