सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी अपराह्न बसेको जसपा पार्टी पदाधिकारीको बैठकले आफ्ना सांसदलाई ओलीको विश्वासको मत दिन–नदिने विषयमा स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेका छन् । पार्टी पदाधिकारीको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । संसद्को अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित छ । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निकट रहेको ठानिएको छ । यो समूह ओलीसँग निरन्तर संवादमा पनि छ । तर कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए । यसअघि आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए । संघीय परिषद्का संयोजक डा.बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । डा.बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा राखेका थिए । मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको नेता राजेन्द्र श्रेष्ठले बताए । उनले अघि भने, ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ । हामी चाहिं विपक्षमा मतदान गछौं ।’