सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा तथा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अनुस्थित रहेपनि संवैधानिक परिषद्को आइतबार बिहानका लागि तय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको परिषद् बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल गर्ने बैठकको कार्यसूची रहेको बताइएको छ । बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने गरी सरकारले भर्खरै अध्यादेश जारी गरेअनुसार परिषद् बैठक बसेको हो । यसअघि प्रमुख विपक्षी दलका नेता देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न तथा सदस्यहरुलाई बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । प्रचण्डले प्रकाशित गरेको वक्तव्यमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका थिए । अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गरेका थिए । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् । संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्बाट पारित नभएपछि सरकारले भखरै अध्यादेश जारी गरेको छ । जारी अध्यादेशमा प्रधानमन्त्रीसहित परिषद्का दुई सदस्यको उपस्थितिमा नियुक्ति लगायतका निर्णय गर्न सकिने उल्लेख छ । प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश तथा सभामुख सदस्य रहने व्यवस्था छ ।