सोसल मिडिया
Contact Us
युनिकोड
झापा । देशभर कोरोनाभाइरस सङ्क्रमितको संख्या उकालो लागिरहँदा स्थानीय तहले सामान्य काम गरिदिँदा महामारीको स्थितिलाई नियन्त्रण गर्न सकिने विज्ञ–चिकित्सकहरूले सुझाव दिएका छन् । अस्पतालमा भर्ना भएका सङ्क्रमितभन्दा घरमै बसेका सङ्क्रमितको स्वास्थ्य स्थितिका बारेमा नियमित जानकारी लिनुपर्ने अत्यावश्यक र महत्वपूर्ण भएको उनीहरुको भनाई छ । स्थानीय तहले घरमै बसेका सङ्क्रमितको निगरानी, सोधपुछ गरिदिँदा अस्पतालमा सङ्क्रमितको चाप नबढ्ने सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोला बताउँछन् । डा.बास्तोला स्थानीय तहका स्वास्थ्य शाखामा कर्मचारी थपेर भए पनि काम गर्नुपर्ने बताउँछन् ।
सङ्क्रमितको सही तथ्याङ्क र जानकारी राख्ने, अक्सिजन हेर्ने र एक्सरेको व्यवस्था, अस्पताल पु¥याउने व्यवस्था, हिँड्डुलमा अनुगमन जस्ता महत्वपूर्ण काम स्थानीय तहले गर्नुपर्ने विज्ञहरुको सुझाव छ । सङ्क्रमितको अक्सिजन लेबल हेर्ने र लक्षणसहितका सङ्क्रमितको छातीको एक्स–रे गर्ने व्यवस्था मिलाउनु पर्ने उनीहरुको भनाई छ । कोरोना भाइरसका सबै सङ्क्रमितमा सङ्क्रमणका लक्षण देखिएका धेरैमा ५ देखि १० दिनमा नियोनिया भएका बिरामी भेटिएका जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डे बताउँछन् । उनले भने, ‘घरमै बसेका लक्षणसहितका सङ्क्रमितहरुको कम्तीमा एक सातामा लक्षणसहितका सङ्क्रमितहरुको कम्तीमा एक सातामा छातीको एक्सरे गरिदिने व्यवस्था मिलाए जटिलता आउनसक्ने बिरामीलाई अस्पताल पु¥याउन सहज हुने थियो ।’ सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोला अक्सिजन लेबल हेरेर लेबल कम भएका, लगातार खोकी लागेका, श्वास फेर्न गाह्रो भइरहेका र ज्वरो आइरहेका बिरामीको छातीको एक्सरे गर्ने व्यवस्था स्थानीय तहले अनिवार्य मिलाउनु पर्ने बताउँछन् । सङ्क्रमण भएर घरमै बसेका कतिपय बिरामीको अस्पताल नगई मृत्यु भएका समाचार आइरहेका छन् । जनस्वास्थ्यविद् डा.पाण्डेका अनुसार वडा कार्यालय तथा स्थानीय तहका स्वास्थ्य शाखाले यो व्यवस्था मिलाए सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु पर्ने अवस्था घटेर जान्छ । घरमै बसेका कोरोना भाइरस सङ्क्रमितहरू अनुगमन गर्न स्थानीय तहले ध्यान नदिएको गुनासो आइरहँदा उनीहरूको हिँडडुलको अनुगमन अहिले महत्वपूर्ण पक्ष भएको चिकित्सकहरुको भनाई छ । डा. बास्तोलाका अनुसार त्यस्ता सङ्क्रमित घर बाहिर निस्किए सङ्क्रमणले झन् गति लिने भएकाले त्यसप्रति स्थानीय सरकार सजग हुनुपर्छ । उनले भने, ‘अहिले त घरमा एक जनालाई सङ्क्रमण हुँदा परिवारका सबै सदस्यलाई सङ्क्रमण सरेको पाइरहेका छौँ । उनीहरू घर बाहिर गए के होला ?’
जनशक्ति र स्रोतसाधन छैन : स्थानीय तह चिकित्सक तथा जनस्वास्थ्यविद्हरूले अहिलेको महामारीको अवस्थामा स्थानीय तहले गर्ने कामका बारेमा आग्रह गरिरहँदा धेरै स्थानीय तहका पदाधिकारीले आफूहरूका स्थानीय तहमा चाहिएको स्रोतसाधन नभएको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिका अनुसार सङ्क्रमणको महामारीमा खटिने किसिमका तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा स्थानीय तहले काम गर्नु परिरहेको छ । सुनसरीको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुनादेवी गौतम पोखरेलले अन्य काम गर्न सकिने भए पनि सङ्क्रमितको छातीको एक्स–रे गर्नका लागि जनशक्ति नभएको बताइन् । उनले भनिन्, ‘यो बेला स्थानीय तहको मुख्य भूमिका हुनेमा दुईमत छैन । हामी कहाँ दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन् । सङ्क्रमितको एक्सरे गर्ने व्यवस्था मिलाउन गाह्रो छ ।’
क्षमताले भ्याएसम्म काम कतिपय स्थानीय तहले क्षमताले भ्याएसम्म महामारी नियन्त्रणका लागि काम गरिरहेको बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले चिकित्सकले सुझाए बमोजिम सङ्क्रमितको व्यवस्थापनका लागि ध्यान दिइरहेको बताए । उनले भने, ‘घरमा बसेकाहरूको अनुगमन गरिरहेका छौँ । आवश्यक परेको खण्ड उनीहरूको छातीको एक्सरे गर्ने, अस्पताल पठाउने र अनुगमन गर्ने काम गरिरहेका छौं ।’
कन्ट्याक्ट ट्रेसिङ बढाउन आग्रह सङ्क्रमणको शुरुआती बेलामा स्थानीय तहहरूले एक स्थानमा सङ्क्रमित भेटिए उसका वरपरका धेरैलाई पीसीआर परीक्षणका लागि स्वाब नमुना प्रयोगशालामा पठाउने गरेका थिए । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहँदा सो प्रक्रिया धेरै स्थानीय तहले चलाएको पाइँदैन । केही स्थानीय तहले सङ्क्रमणको लक्षण भएकाहरूलाई एन्टिजेन परीक्षण भने गर्ने गरेका छन् । यसैसाता स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर सङ्क्रमणको जोखिमयुक्त स्थानमा कन्ट्रयाक्ट ट्रेसिङ बढाउनका लागि स्थानीय तहलाई आग्रह गरेको छ । सङ्क्रमितले आफूखुसी औषधि सेवन गर्न थालेको पाइएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि प्रयोग गर्न पनि मन्त्रालयले सूचना जारी गरिसकेको छ ।–बीबीसी