चिनियाँ विदेशमन्त्री नियुक्त भएको सात महिनापछि नै पदमुक्त

बुधबार, साउन १०, २०८०

बेइजिङ । चीनले आफ्ना विदेशमन्त्री चिन गाङलाई पदमुक्त गरेको छ । उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए । अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन् । उनी यसअघि पनि विदेशमन्त्री थिए । सन्ताउन्न वर्षीय चिन गाङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन् । यस विषयमा उनको मन्त्रालय पनि मौन रहँदै आएको सन्दर्भमा विभिन्न अनुमानहरू भइरहेका थिए । उनलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो । गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो ।

चिन गाङ


"चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ", सरकारी समाचारसंस्था सिन्ह्वाले भनेको छ ।
उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ ।

चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ ।

आशंका
एक महिनाअघि चिन आफ्ना सामान्य जिम्मेवारीहरूमा नदेखिँदा र इन्डोनेशियामा एक सम्मेलनमा सहभागी हुन नसक्दा नखुलाइएको स्वास्थ्य समस्या भन्दै एक निकै संक्षिप्त कारण दिइएको थियो ।
तर त्यसबारे मन्त्रालयबाट कुनै विस्तृत विवरण नदिइँदा त्यसले अफवाहहरू फैलन सहयोग पुर्‍याएको थियो ।
जसक्रममा गरिएका अनुमानमा उनलाई कि त राजनीतिक कारणले वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको उल्लेख गरिएका थिए । चीनको इतिहासमा विदेश मन्त्रीको पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्येमा पर्छन् ।

चिन गाङले जुन महिनामा अमेरकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँग भेटेका थिए
दुई वर्षभन्दा कम समय अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए ।
त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए । चिनियाँ राष्ट्रपतिका विदेश भ्रमणहरू व्यवस्थापन गर्न सघाएका कारण उनलाई चिनियाँ नेतासँग निकट रहेर काम गर्ने अवसर मिलेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार