नौवटा वडाको सहयोगमा मंगलबजारमा प्रहरीको भवन निर्माण 

बिहीबार, असार ७, २०८०

ललितपुर । प्रहरी प्रभाग मंगलबजारको अस्थायी भवन निर्माण सम्पन्न भएको छ । 
नवनिर्मित अस्थायी भवनको  बिहीबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । वि.सं.२०७२ सालको भूकम्पमा परेर प्रभागको भवन भत्किएपछि टेन्टबाट प्रहरी प्रभाग मंगलबजारले त्यस क्षेत्रमा सुरक्षा सेवा प्रदान गरिरहेको थियो । 
ललितपुर महानगरकाको वडा नं. ६, ७, ८, ९, ११, १२, १६, १७ र १९को आर्थिक सहयोगमा यो अस्थायी भवन निर्माण भएको हो । 
नगर प्रमुख चिरीबाबु महर्जनले यो अस्थायी भवन जनप्रतिनिधि र प्रहरीबीचको सहकार्यको उच्चतम नमूना भएको बताए । प्रहरीसँगको सहकार्यमा ललितपुर महानगरले महानगरभित्रका सडकमा सिसिटिभी क्यामेरा जडानको लागि काम अघि बढाएको जानकारी दिए । उनले भने, ‘स्मार्ट सडकबत्ती जडान भएको रुटमा सिसीटिभी क्यामेरा जडानको काम थालेका हौ ।’

353650361_1351757212434276_948428408400374922_n1687418742.jpg
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रभागका लागि भवन निर्माण गर्न सहयोग गरेकोमा वडाअध्यक्षहरूलाई धन्यवाद दिए । बर्दीसहित प्रहरी र बर्दीबिहीनका नागरिकको संयुक्त प्रयासबाट समाजमा शान्ति सुरक्षा कायम हुने उनले बताए ।  
वडा नं १२ का वडाअध्यक्ष नारायणलाल अवालेले सहकार्यको महत्व र आवश्यकता बुझाउन नौवटा वडाहरू मिलेर प्रहरी प्रभाग मंगलबजारको भवन निर्माण गरेको बताए । उनले भने, ‘यो भवन निर्माण गर्न ३२ लाख लाग्यो, यो रकम एउटै वडाले पनि खर्च गर्न सक्थ्यो तर सहकार्यको महत्व बुझाउन सबै मिलेर बनायौं ।’
ललितपुर जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाहले टेन्टमा बसेर नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्ने व्यवस्था मिलाइदिएकोमा वडाअध्यक्षहरूलाई धन्यवाद दिए । मंगलबजार प्रभागले यस क्षेत्रका नागरिकको साथै पाटन दरबार क्षेत्रलाई समेत सुरक्षा प्रदान गरेको बताए । 

355422565_795351315315258_1762915797598578412_n1687418754.jpg
प्रहरी प्रभाग मंगलबजारका प्रमुख कृष्ण श्रेष्ठले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रहरी नागरिकको सुरक्षामा पछि नपरेको बताए । प्रहरी प्रभाग मंगलबजार पाटन दरबार क्षेत्रको समेत सुरक्षामा खटिएको धारणा राखे । 
कार्यक्रममा नगर प्रमुख महर्जन, भवन निर्माणका लागि सहयोग गर्ने वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार