झण्डै पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री बेइजिङमा

आइतबार, असार ३, २०८०

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चिनियाँ अधिकारीहरूसँगको दुई दिने वार्ताको सुरुमा बेइजिङमा चिनियाँ विदेश मन्त्री किन गांगसँग भेटेका छन् । यो करिब पाँच वर्षमा अमेरिकी कूटनीतिज्ञले गरेको पहिलो चीन भ्रमण हो । अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन् । अमेरिकी आकासमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो ।
अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन् ।
अमेरिकी अधिकारीहरूले यस भ्रमणको उद्देश्य भनेको उच्चस्तरीय वार्ताका ढोकाहरूलाई पुनः खोल्नु र बलुन उडाइएको घटनापछि तनावपूर्ण बनेको सम्बन्धलाई स्थिर राख्नु रहेको बताएका छन् । चीनले आफ्नो अभिन्न अङ्ग मान्ने ताइवान नजिकै चीनले सैन्य अभ्यास गर्ने गरेको छ । 
अमेरिकाले चाहिँ ताइवानको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारसँग घनिष्ठ सम्बन्ध राख्छ ।
यो भ्रमणमा किन गांग र वरिष्ठ चिनियाँ विदेश नीति अधिकारी वाङ यीसँगको भेटघाट सहितको पूर्ण एजेन्डाहरू छन् ।

चीन अमेरिका

युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकीहरूले छलफल गर्न अपेक्षा गरिएका छन् ।
चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाएका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्ने वा भेट्न नपाउने भन्ने स्पष्ट छैन । ब्लिङ्कन सन् जनवरी २०२१ मा राष्ट्रपति जो बाइडनले पद सम्हालेयता चीन भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी हुन् ।
ब्लिङ्कन भ्रमणका मुख्य मुद्दा

सम्बन्ध सुधार
ब्लिङ्कनको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तरक्रियालाई पुनः स्थापना गर्नु हो । गत महिना अस्ट्रियाको भियनामा वरिष्ठ अमेरिकी अधिकारी र चिनियाँ अधिकारीहरूबीच भएको भेटले त्यसको प्रारम्भिक थालनी गरेको थियो ।
ब्लिङ्कन चीन भ्रमण गर्ने बाइडन प्रशासनका सबैभन्दा वरिष्ठ अधिकारी हुन् र अक्टोबर २०१८ पछि अमेरिकी विदेश मन्त्रीको यो पहिलो बेइजिङ भ्रमण हो ।
अमेरिका-चीन सम्बन्धबारे जानकार विज्ञहरू द्वन्द्वको जोखिमलाई कम गर्नका लागि दुई पक्षबीच प्रत्यक्ष कूटनीतिक संवाद हुनु जरुरी भएको ठान्छन् ।  र, ब्लिङ्कनको भ्रमणले त्यसको थालनी गर्न सक्ने ठानिएको छ ।

व्यापार विवाद कम गर्ने प्रयास
राष्ट्रपति बाइडनको कार्यकाल चीनसँगको असहज सम्बन्धसँगै सुरु भयो । त्यसको एउटा कारण उनले ट्रम्प प्रशासनले लागु गरेका व्यापार प्रतिबन्धहरूलाई हटाउने इच्छा नदेखाउनु पनि हो । त्यस्ता प्रतिबन्धका कारण चिनियाँ उत्पादनहरूले अमेरिकामा अरबौँ डलरको आयात शुल्क बेहोर्नु परेको छ । केही क्षेत्रमा बाइडनले अझ कडा कदम चालेका छन् । उन्नत कम्प्युटर तथा इलेक्ट्रोनिक्स प्रविधिमा अमेरिकी दबदबा कायम राख्ने प्रयासमा चीनमा अमेरिकी कम्प्युटर चिप निर्यातमा प्रतिबन्ध लगाइएको छ । त्यसको प्रतिक्रियामा चीनले सबैभन्दा ठूलो अमेरिकी चिप निर्माता माइक्रोनले बेच्ने कम्प्युटर मेमोरी चिप्समा आफैँले प्रतिबन्ध लगाइदिएको छ । ब्लिङ्कनको भ्रमणले अमेरिका र चीनबीच जारी यस्तो लडाइँलाई कम गर्ने एउटा महत्त्वपूर्ण पहलको रूप लिन सक्नेछ ।

साङ्केतिक तस्बिर

युद्ध रोक्ने प्रयास
बलुन घटनापछि चीनले रुसलाई अस्त्र पठाउने विचार गरिरहेको र ती अस्त्रहरू तुरुन्तै युक्रेन विरुद्धको युद्धमा प्रयोग हुनसक्ने खबरहरू आएका थिए ।
युक्रेन–रुस द्वन्द्व अमेरिका र चीनबीचको छद्म युद्धमा परिणत हुनसक्ने र दुई राष्ट्रबीचको विशेष विवादास्पद मुद्दा हुन सक्ने जोखिममालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरू पछिल्लो समय ती आरोपहरूबाट पछि हटेका छन् ।
तर ब्लिन्कनले भियनामा चिनियाँहरूलाई दिएको चेतावनीलाई दोहोर्‍याउने अपेक्षा गरिएको छ ।
भियनामा अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य र आर्थिक सहायता दिएमा त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार