सुडानको लडाइँ अन्त्य गराउने प्रयासमा पहिलो प्रत्यक्ष वार्ता हुने

शनिबार, वैशाख २३, २०८०

खार्तुम । कैयौँ पटक गरिएका युद्धविराम तोडिएको पृष्ठभूमिमा साउदी अरबको आउोजनामा सुडानका द्वन्द्वरत पक्षबीच शनिवार पहिलो प्रत्यक्ष वार्ता हुन लागेको छ ।
सुडानको सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जेद्दाहमा हुन लागेको “सहमति पूर्वको वार्ता” को अमेरिका र साउदी अरबको संयुक्त वक्तव्यले स्वागत गरेको छ । खार्तुममा शुक्रबार पनि लडाइँ जारी रहेका रिपोर्टहरू आएका थिए ।
मानवीय सङ्कटसम्बन्धी विषयलाई सम्बोधन गर्नेतर्फ वार्ता लक्षित रहने सुडानको सेनाले जनाएको छ । वार्ताबारे आरएसएफले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

शक्तिका लागि सङ्घर्ष
गम्भीर मानवीय सङ्कटबीच संयुक्त राष्ट्रसङ्घ र सहायता निकायहरूले वार्ताका लागि दबाव दिइरहँदा जेद्दाहमा संवादमा संलग्न हुन आफ्ना दूतहरू पठाएको सेनाले पुष्टि गरेको छ ।
करिब तीन सातायता जारी भीषण लडाइँका कारण सयौँ मानिस मारिएका छन् भने झन्डै साढे चार लाख सर्वसाधारण विस्थापित भएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्ठन आईओएमका अनुसार कुल एक लाख १५ हजार मानिसले छिमेकी देशहरूमा शरण मागेका छन् ।
सुडानका सैनिक कमाडर जेनरल फत्ताह अल-बुर्हान र हेमेद्ती नामले पनि चिनिने आरएसएफका जेनरल मोहम्मद हमदान दगालोबी सत्ताका कडा सङ्घर्ष चलिरहेको छ ।

“द्वन्द्वरत पक्षलाई युद्धविराम गराउने र द्वन्द्वव अन्त्य गराउने दिशामा वार्ता गर्न तथा राष्ट्र एवं जनताको स्वार्थअनुसार अघि बढ्न” अमेरिका र साउदी अरबले वक्तव्यमार्फत्‌ अपिल गरेका छन् ।
सुडानका “सबै पक्ष समेटिने गरी विस्तारित वार्ता प्रक्रिया” को पनि वक्तव्यमा अपेक्षा गरिएको छ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार लडाइँको शुरूका ११ दिनमा मात्रै करिब १९० जना बालबालिका मारिएका र १,७०० घाइते भएका छन् ।
यो सङ्ख्या खार्तुम र डार्फरमा रहेका स्वास्थ्य संस्थाहरूले उपलब्ध गराएका विवरणमा आधारित हो। “वास्तविकता झन् खराब हुन सक्छ,” उनले थपे ।
भीषण लडाइँका कारण प्रभावितसम्म अत्यात्वश्यक सहायता सामग्री पुर्‍याउन पनि कठिन भएको छ ।बीबीसी

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार