ट्रकको ठक्करबाट तनहुँमा तीन जनाले ज्यान गुमाए

बिहीबार, वैशाख २१, २०८०

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृत्यु हुनेमा बन्दीपुर–१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेलको घरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
त्यसैगरी ट्रकको ठक्करबाट घाइते भएका बन्दीपुर–१ बस्ने वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८ का समिर भुजेल र वर्ष ५ का सन्तोष भुजेलको उपचार भइरहेको छ । दुर्घटनाको विषयलाई लिएर पूर्णरुपमा बन्द रहेको पृथ्वीराजमार्ग सडक दिउँसोदेखि सञ्चालनमा आएको थियो
बालबालिका विद्यालय पुग्नै पाएनन्
बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर तयारी अवस्थामा थिए ।
आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खाना खाइवरी बस कुर्नका लागि सडक छेउमा बसिरहेका हुन् । यतिकैमा अचानक डुम्रेतर्फबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो । उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो । ठक्करबाट विद्यालय जान तयारी गरिरहेका छ विद्यार्थी र अन्य दुई जना घाइते भए । विद्यालय जान हिँडेका विद्यार्थी घाइते भएपश्चात् अस्पताल जान बाध्य भए । घाइते अवस्थामा उनीहरूलाई तत्कालै चितवनको पुरानो मेडिकल कलेज पठाइयो । घाइतेमध्ये १२ वर्षीय आयुष भुजेलको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामै घाइते ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
“बालबालिका विद्यालय जाने तयारीसहित बसिरहेका थिए, एक्कासि ट्रक आएर ठक्कर दियो । एक जना बाबुको मृत्यु भयो, अन्य पाँच जना बालबालिका घाइते अवस्थामा उपचाररत छन्”, बन्दीपुर–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले भने । ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाएपछि याम्पा आँधीखोला शोकमा डुबेको छ । घरदेखि १५÷२० मिनेटको दूरीकाे विद्यालय जान बालबालिका गाडी चढ्थे ।
दुर्घटनामा सोही विद्यालयमा अध्ययन गर्ने छ वर्षीया आयुषा भुजेल, दश वर्षीया जस्मिन भुजेल, दश वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समिर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते छन् । उनीहरूको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार